म्याग्दीको मंगला गाउँपालिका–२ आम्बोटमा बाढीपहिरोले चार घरसहित गोठ, आरन र धानखेतमा ठूलो क्षति पु¥याएको छ । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि गाउँमाथिबाट लेदोमाटोसहित आएको बाढीपहिरोले वस्ती र खेतीयोग्य जमिनमा क्षति पु¥याएको हो ।
असोज १० गते बिहान गाउँभन्दा माथिबाट एक्कासी पहिरो खसेपछि स्थानीयवासी भागेर ज्यान जोगाउन सफल भएका थिए । पहिरोले आम्बोटका मनबुजा विक, डम्मरबहादुर विक, मनकुमारी सुनार र लालबहादुर विश्वकर्माको घरमा क्षति पु¥याएको छ । ७२ वर्षीय डम्मरबहादुर विकको घर अहिले बस्नै नमिल्ने अवस्थामा पुगेको छ । वर्षौंदेखि जीवन निर्वाहको आधार बनेको उहाँको आरन समेत पहिरोले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ ।

आरनसँगै गोठ पुरिँदा गोठमा बाँधिएको एउटा दुहुनो भैंसीसमेत पहिरोमा परेर मरेको छ । घर र आरन दुवै क्षतिग्रस्त भएपछि डम्मरबहादुरको परिवारको दैनिकी समेत प्रभावित बनेको छ । ‘घर पनि रहेन, गुजारा चलाउने आरन पनि रहेन,’ उहाँले दुःखेसो गर्नुभयो । पहिरोबाट भागेर ज्यान जोगाउनुभएका लालबहादुर विश्वकर्माको घरमा आंशिक क्षति पुगेको छ । पहिरोले किचन, शौचालय, बाथरुम, खानेपानीको मिटरबक्स, तीनवटा ड्रम लगायतका सामग्री बगाएको उहाँले बताउनुभयो । उहाँको करिब आठ रोपनी धानखेत समेत बाढीपहिरोले पूर्ण रूपमा क्षति भएको छ ।

घरसँगै आम्बोटका विभिन्न व्यक्तिको धानखेतमा समेत ठूलो क्षति पुगेको छ । नारायण पुरी, चन्द्रकुमारी विक, उमा विक, पार्वती गोतामे लगायतको धानखेत पहिरोले पुरिदिएको छ । स्थानीयका अनुसार आम्बोट गाउँमा यसअघि यस्तो पहिरो आएको थिएन । यसपटक भने गाउँमाथिको लरेनी गाउँमुनिबाट लेदोमाटोसहितको पहिरो खसेपछि बस्ती तथा खेतबारीमा क्षति पुगेको हो । बाढीपहिरोका कारण घरको पाली भत्किएको र घरको छेउबाट लेदोसहितको खोला बगेकाले बस्न नमिल्ने अवस्था भएको डम्मरबहादुरले बताउनुभयो । उहाँले राज्यका निकायबाट तत्काल गास र बासको व्यवस्था गर्न माग गर्नुभएको छ ।
यस्तै, पहिरोपीडित मनबुजा विकको घरसमेत चर्किएको छ । बाढीपहिरोपछि घरमा जोखिम बढेकाले बस्न समस्या भएको उहाँले बताउनुभयो । पहिरो प्रभावित परिवारलाई तत्काल राहतको व्यवस्था गर्नुका साथै क्षतिको विवरण सङ्कलन गरी दीर्घकालीन व्यवस्थापनको योजना अघि बढाइने मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो ।

बाढीपहिरोबाट भएको क्षतिको अवस्था बुझ्न सोमबार गण्डकी प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन), म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरे, प्रहरी नायव उपरीक्षक राजन कार्की, प्रमुख अनुसन्धान अधिकृत विजय पौडेल तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमसहितको टोली आम्बोट पुगेको थियो । टोलीले पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै प्रभावित परिवारसँग छलफल गरेको थियो ।
बाढीपहिरोबाट घर, गोठ, आरन र खेतीयोग्य जमिनमा क्षति पुगेपछि आम्बोटका प्रभावित परिवारलाई तत्काल राहतसँगै सुरक्षित आवास तथा पुनस्र्थापनाको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ । आम्बोटमा बाढीपहिरोबाट भएको क्षतिको विवरण मंगला गाउँपालिका र वडा कार्यालयले सङ्कलन गरेका छन् ।





