• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

नजिकै आएका नेपालीहरुको बडादसैँ, तिहार, छठपर्वलगायत चाडपर्वलाई लक्षित गर्दै म्याग्दीमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडपर्वको समयमा बढ्ने सवारीसाधनको चाप तथा सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्दै सर्वसाधारणको यात्रा सहज, सुरक्षित र भरपर्दो बनाउन यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

नेपाल प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले ‘ट्राफिक प्रहरीको आह्वान, सुरक्षित र सहज आवागमन’ भन्ने नारासहित बेनी नगरपालिका–८ स्थित कालीपुल बसपार्क र मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा यात्रु सहायता कक्ष स्थापना गरेका हुन् ।

चाडपर्वको बेला सार्वजनिक तथा निजी सवारीसाधनको चाप बढ्नुका साथै यात्रुको आवागमनसमेत उल्लेख्य रूपमा बढ्ने भएकाले दुर्घटना न्यूनीकरण तथा यात्रुका समस्या तत्काल सम्बोधन गर्न सहायता कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको छ । सहायता कक्षमार्फत यात्रु र सवारी चालकलाई ट्राफिक नियम, सुरक्षित यात्रा तथा सडक अनुशासनको विषयमा सचेत गराइनेछ ।

यात्रु सहायता कक्षको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले चाडपर्वको समयमा सर्वसाधारणलाई सहज र सुरक्षित रूपमा यात्रा गर्ने वातावरण बनाउन यातायात व्यवसायी तथा सुरक्षाकर्मीलाई आग्रह गर्नुभयो । चाडपर्वमा यात्रुको बाध्यता र सवारीसाधनको चापलाई अनुचित आर्थिक लाभ लिने अवसरको रूपमा लिन नहुने उहाँको भनाइ थियो ।

चाडपर्वलक्षित सुरक्षा योजना अन्तर्गत सार्वजनिक यातायातमार्फत यात्रा गर्ने यात्रुले भोग्न सक्ने समस्या समाधान तथा आवागमनलाई सहज बनाउन यात्रु सहायता कक्ष उपयोगी हुने म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो । यात्रुलाई पर्न सक्ने समस्या समाधान गर्नुका साथै सुरक्षित र व्यवस्थित आवागमनका लागि सहायता कक्षले सहजीकरण गर्ने उहाँले बताउनुभयो । प्रहरी नायव उपरीक्षक राजन कार्कीले चाडपर्वको समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्दै यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले यात्रु सहायता कक्ष सञ्चालन गरिएको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार सहायता कक्षमार्फत सवारीसाधनको अवस्था चेकजाँच, चालक तथा सहचालकको व्यवहार, तोकिएकोभन्दा बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियम उल्लङ्घन गर्नेलगायत गतिविधिको निगरानी गरिनेछ । यात्राको क्रममा यात्रुले भोगेका समस्या तथा गुनासोसमेत सहायता कक्षमार्फत तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

यातायात व्यवसायी देवेन्द्र पौडेलले यात्रुलाई सुरक्षित, सहज र भरपर्दो सेवा उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको बताउँदै यातायात क्षेत्रमा देखिएका बिकृति तथा समस्या न्यूनीकरणसहित सुरक्षित यातायात सेवा सञ्चालनका लागि ट्राफिक प्रहरीसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

चाडपर्वको समयमा यात्रुको आवागमन बढ्ने भएकाले यात्रु सहायता कक्षले भाडादर, सवारीको अवस्था, यात्रुको सुरक्षा र ट्राफिक अनुशासनमा निगरानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसैबीच, बाढीपहिरोका कारण क्षतिग्रस्त बेनी–जोमसोम–कोरला सडकखण्ड केही दिनमै सञ्चालनमा आउने तयारी भैरहेकाले चाडपर्वको समयमा यस सडकमा यात्रु तथा सवारीसाधनको चाप बढ्ने देखिएको छ । यस्तो अवस्थामा ट्राफिक व्यवस्थापन तथा सुरक्षामा थप सक्रियता आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।