असार २५, २०८२ बुधवार । रुप्से न्यूज
म्याग्दी– पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३, लुक्सीपारमा घाँस काट्न जाँदा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ भने एकजना अझै बेपत्ता छन् । बुधवार दिउँसो घर नजिकैको पाखोबारीमा घाँस काट्ने क्रममा एक्कासी माथिबाट आएको पहिरोमा परेर लुक्सीपारका ३५ वर्षीय जगेन्द्र विक र १२ वर्षीय सरोज विक पहिरोमा पुरिएका थिए ।

पहिरोमा पुरिएका दुईजना उनीहरु नाताले बाबुछोरा हुन् । उनीहरुमध्ये बाबु जगेन्द्र विकको शव भेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । लुक्सीपारमा माथिबाट खसेको पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका हुन् । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा प्रहरीको टोली, जनप्रतिनिधि र स्थानीयवासीले बेपत्ता सरोजको खोजी गरेका थिए ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत म्याग्दीको दरबाङस्थित रहेको वर्षा मापन केन्द्रको अभिलेख अनुसार बुधवार बिहान ६ बजेदेखि मालिका गाउँपालिका क्षेत्रमा भारी वर्षा भएको थियो । हिजो दिउँसो २ बजेसम्म मालिका गाउँपालिका ६ दरबाङ क्षेत्रमा १ सय १५ मिलिमिटर वर्षा मापन भएको छ ।



