भदौ ८, २०८२ आइतबार । रुप्से न्यूज
म्याग्दी– जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा शुक्रवार सदरमुकाम बेनीमा कर्मचारीहरुलाई लक्षित गरी क्षमता विकास तालिम कार्यक्रम सम्पन्न भएको छ । पोस्टल इन्टरनल ट्र¥याकिङ सिस्टम (पिआईटिएस) सञ्चालन सम्बन्धी विषयमा पालिका हुलाक लगायतका कर्मचारीहरुलाई तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले वर्तमान समयमा विज्ञान तथा प्रविधिको प्रयोग बढ्दै गैरहेको भए पनि हुलाकको महत्व अझै रहेको बताउनुभयो । उहाँले विगतको समयमा सूचना आदानप्रदान गर्ने एक प्रमुख तथा सशक्त माध्यम हुलाक रहेको उल्लेख गर्दै अब हुलाकबाट सम्पादन हुने सेवासुविधालाई समयसापेक्ष बनाएर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जिल्ला हुलाक कार्यालय र मातहतमा रहेका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता विकास गर्नका लागि तालिम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले चिठीपत्र तथा पार्सलसहित सरसामानहरु आदानप्रदान गर्ने जिल्ला हुलाक कार्यालयको मुख्य जिम्मेवारी रहेको बताउँदै क्षमता विकास कार्यक्रम अन्तर्गत पिआईटिएस कार्यक्रमको बारेमा कर्मचारीलाई लक्षित गरेर तालिम आयोजना गरिएको बताउनुभयो ।

पिआईटिएस सेवा सञ्चालनको मुख्य उद्देश्य हुलाक कार्यालयबाट पठाएका चिठीपत्र, पार्सललगायत सामानहरु कहाँ पुग्यो भनेर पठाउने व्यक्ति स्वयंले हेर्न सक्ने बनाउन जिल्ला हुलाक कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । उहाँले जिल्लाका सबै हुलाक कार्यालयमा कम्प्युटर तथा इन्टरनेट जडान गरिसकिएकाले त्यसको प्रभावकारी कार्यान्वयनको अवस्थाबारे जानकारी लिने तथा कर्मचारीबीच अनुभव समेत आदानप्रदान गर्नको लागि कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला हुलाक कार्यालय म्याग्दीका खरिदार मिनबहादुर बरुवालले पिआईटिएस कार्यक्रम सञ्चालनको विषयमा आफ्नो प्रस्तुतीकरणसहित सहजीकरण गर्नुभएको थियो । कार्यक्रम कार्यालय प्रमुख थापाको अध्यक्षता, प्रशासन प्रमुख कलादेवी शर्मा रिजालको स्वागत र खरिदार बरुवालको सञ्चालनमा सम्पन्न भएको थियो ।



