भदौ ८, २०८२ आइतबार । रुप्से न्यूज
म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बीर)ले गृह जिल्ला म्याग्दीको बेनी नगरपालिका–१०, स्थित पात्लेखेतको बान्द्रेखाल्टी र पाखा पहिरोको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । शनिवार राज्यमन्त्री गर्बुजासहितको प्राविधिक टोलीबाट पात्लेखेत पहिरोको निरीक्षण गरिएको हो ।

पहिरो निरीक्षण कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कांग्रेस म्याग्दीका उपसभापति केबि भण्डारी, प्रदेशसभा क्षेत्र (क)का सभापति ओम छन्त्याल, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, बेनी नगरपालिका ९ नम्बर वडाका वडा अध्यक्ष चक्रबहादुर केसीलगायत नेता तथा कार्यकर्ता र सिँचाइ एवं जलस्रोत व्यवस्थापन आयोजना कास्कीका प्राविधिक टोली सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा वडा अध्यक्ष मसबिर रोका, बेनी नगरपालिकाको कार्यपालिका सदस्य निर्मला मल्ल लगायतले राज्यमन्त्री गर्बुजालाई पहिरोले पु¥याएको क्षतिबारे जानकारी गराउनुभएको थियो । वि.सं. २०६९ सालदेखि गाउँको पुछारबाट पहिरो जान थालेपछि सिङ्गो गाउँ नै अहिले पहिरोको उच्च जोखिमा परेको छ । भिरालो अनि कमजोर भूगोलको कारण पहिरो जाने क्रम रोकिएको छैन । धाँजा फाटेर पहिरो वस्तीतर्फ आउन थालेपछि पात्लेखेतको अधिकांश वस्तीहरु पहिरोको जोखिममा परेका छन् ।

पहिरोले हालसम्म ७ सय रोपनीभन्दा बढी खेतीयोग्य जमिन र ८ हेक्टर बढी वनक्षेत्र सखाप बनाएको स्थानीयवासी केदार सुवेदीले जानकारी दिनुभयो । बान्द्रेखाल्टी र पाखा पहिराबाट हरि गर्बुजा, खम्बी गर्बुजा, यामबहादुर राम्जाली र लालबहादुर हमाल विस्थापित हुनुभएको नगर कार्यपालिका सदस्य मल्लले बताउनुभयो । उहाँका अनुसार उक्त पहिरोबाट गोकुल शर्मा, केदार सुवेदी, नरबहादुर मल्ल, जागेश्वर रिजाल, धनबहादुर मल्ल, अर्जुन पराजुली, मनबहादुर रावत, टीका गिरी र कमल मल्लको घर उच्च जोखिममा परेको छ । बान्द्रेखाल्टी पहिरोले ३५ घरधुरी जोखिममा परेका छन्भने पाखा पहिरोबाट २८ घरधुरी जोखिममा छन् ।

वि.सं. २०७२ सालमा गएको भूकम्पको कारण पहिरो नियन्त्रणभन्दा बाहिर गएको स्थानीयवासी सुवेदीले बताउनुभयो । भूकम्पपछि जङ्गलको बीचबाट पहिरो तल रघुगंगा नदीको किनारदेखि माथि मानव वस्तीसम्मै पुगेको छ । भूकम्पपछि पात्लेखेत भूमिगत पहिरोको थप चपेटामा परेको छ । अहिले यहाँका करिब ३० जना बढी स्थानीयवासीको सयौँ रोपनी खेतीयोग्य समिन पूरै पहिरोले बगाएको छ । रोकथामको लागि वडाबाट ग्यावियन पर्खाल निर्माण गरिए पनि गत महिनाको पहिरोले बगाएको छ ।

यसअघि विभिन्न निकायबाट पहिरो रोकथाम गर्नका लागि काम भए पनि सफल हुन सकेको छैन । भूकम्पपछि पात्लेखेत भूमिगत पहिरोको जोखिममा परेको छ । खेतबारी हुँदै वस्तीसम्म पुगेको पहिरोबाट पात्लेखेतका दर्जनौँ घरलाई चिराचिरा पारेको छ । घर, आँगन समेत चर्किएर जोखिम बढे पनि स्थानीयवासीहरु भने जोखिम मोलेरै बस्न बाध्य भएका छन् । पहिरोग्रस्त क्षेत्रको स्थलगत निरीक्षणपछि राज्यमन्त्री गर्बुजाले दीर्घकालीन रोकथामका लागि पक्की पर्खालसहितको पूर्वाधार संरचना निर्माण गर्न आफूले आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने बताउनुभयो ।


