भदौ ८, २०८२ आइतबार । रुप्से न्यूज
म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको बगुवाखोलामा सञ्चालित बौद्धिक अपाङ्गता स्रोतकक्षालाई खाद्यान्न सामग्री सहयोग भएको छ । बगुवाखोलाको बाल जागृति आधारभूत विद्यालयमा रहेको बौद्धिक अपाङ्गता स्रोतकक्षालाई दैनिक उपभोग्य खाद्यान्न सामग्री सहयोग गरिएको हो ।

महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर आइतबार अखिल नेपाल महिला संघ जिल्ला कमिटी म्याग्दी (अनेमसंघ)द्वारा खाद्यान्न सामग्री सहयोग गरिएको छ । बाल जागृतिमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई लक्षित गरी चामल २ बोरा, खानेतेल १ प्याक, नुन ४ पोका, दाल ५ केजीसहित १० हजार दुईसय रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको अनेमसंघले जनाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले अनेमसंघले बौद्धिक अपाङ्गता स्रोतकक्षालाई गरेको सहयोग अत्यन्तै सराह्रनीय रहेको बताउनुभयो । उहाँले एमाले पार्टीले समेत विभिन्न समयमा बौद्धिक अपाङ्गता स्रोतकक्षा सञ्चालन गरेका विद्यालयसँगै मौवाफाँटको दृष्टिविहिन स्रोतकक्षासहित अन्य ठाउँहरुमा पनि सहयोग गर्दै आइरहेको बताउनुभयो । शैक्षिक क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नको लागि सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

बाल जागृति आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर क्षत्रीले बौद्धिक अपाङ्गता स्रोतकक्षामा जिल्लास्थित विभिन्न संघसंस्थाबाट सहयोग आउने गरेको बताउनुभयो । उहाँले स्रोतकक्षामा हाल म्याग्दीसहित बागलुङ, पर्वत, कास्की, काठमाडौंलगायत जिल्लाबाट कुल २१ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेको जानकारी दिनुभयो । अनेमसंघले खरिद गरेको खाद्यान्न सामग्री एमाले गण्डकी प्रदेश सचिवालय सदस्य श्रेष्ठ, म्याग्दी जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, अनेमसंघ गण्डकी प्रदेश कमिटी सदस्य डिलकुमारी खत्री, जिल्ला अध्यक्ष यशुदा रोका लगायतले विद्यालयका प्रअ क्षत्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

अनेमसंघ म्याग्दीका अध्यक्ष रोकाले बाल जागृतिको बौद्धिक अपाङ्गता स्रोतकक्षामा अध्ययनरत विद्यार्थीहरुको अध्ययन तथा अध्यापनमा सहयोग गर्ने उद्देश्यले खाद्यान्न सामग्री खरिद गरी उपलब्ध गराइएको बताउनुभयो । अध्यक्ष रोकाको अध्यक्षता, उपाध्यक्ष पशुपति शाहीको स्वागत र सहसचिव जानुका अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले बेनी नगरपालिका कमिटी अध्यक्ष बेलबहादुर कटुवाल, जिल्ला कमिटी सदस्य एवं बेनपा ६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, अनेमसंघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।




