रुप्से न्यूज/म्याग्दी
हिमाली जिल्ला म्याग्दीको ग्रामीण भेगका महिलाहरुमा पाठेघर संक्रमणको जोखिम पहिचान भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जिल्लाको बेनी नगरपालिकाले विभिन्न तीन ठाउँमा सञ्चालन गरेको महिलालक्षित स्वास्थ्य शिविरमा पाठेघर संक्रमणको पहिचान गरिएको हो ।

बेनी नगरपालिका १ नम्बर वडाको लामागरा, २ नम्बर वडाको ज्यामरुककोट स्वास्थ्यचौकी र ३ नम्बर वडाको भकिम्लीमा महिलाहरुलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा आङ खस्ने समस्याको निःशुल्क जाँच शिविर अर्थात् भिआईए क्याम्प सञ्चालन गरिएको थियो । यी तीनवटा ठाउँमा सञ्चालित भिआईए क्याम्पबाट कुल ३ सय १९ जना महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
भिआईए परीक्षणको क्रममा ३० जना महिलाहरुमा पाठेघरको संक्रमण भएको पाइएको बेनी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यसैगरी २१ जना महिलाहरुमा पाठेघर (आङ) खस्ने समस्याको पहिचान भएको छ भने पिसाब थैली तल झरेको ८ जना र ६ जना महिलाको पाठेघरमा मासु पलाएको तथा ४ जनामा क्यान्सरको आशङ्का गरिएको छ । शिविरमा स्वास्थ्य उपचार सेवा लिन आएका महिलाहरुमध्ये १३ जनाको पाठेघरमा रिङपेसरी राखेर उपचार गरिएको बेनी नगरपालिकाको सिनियर अनमी लिलाकुमारी गौतमले जानकारी दिनुभयो ।

भिआईए क्याम्पको बेनी अस्पतालका स्त्रीरोग विशेषज्ञद्वय डाक्टर विजयकुमार रानाभाट, डा. सञ्जीव यादव र एमडिजीपी डा. रवि गुरुङले शिविरमा सेवा लिन आएका महिलाहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै परामर्श सेवा दिएका थिए । तीन ठाउँमा गरिएको भिआईए क्याम्पमा महिलाहरुमा पाठेघर सम्बन्धी संक्रमणको जोखिम रहेको पाइएको छ । महिलाहरुले धेरै बच्चा जन्माउने, बच्चा जन्माउँदा जन्मान्तर नराख्ने, गर्भावस्थामा गह्रौं भारी बोक्ने, आराम नगर्ने, पोषिलो खानेकुराहरु नखाने, सानो उमेरमा बच्चा जन्माउने जस्ता कारणहरुले गर्दा पाठेघर खस्ने समस्या देखिने गरेको बेनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले बताउनुभयो ।

महिलाहरुले उमेर पुगेपछि मात्रै विवाह गर्ने, बच्चा जन्माउँदा जन्मान्तर कायम गर्ने, महिनावारी र गर्भवती भएको समयमा सरसफाइमा विशेष ध्यान दिने, पर्याप्त आराम गर्ने, पोषणयुक्त खानेकुराहरु खाने, मानसिक तनाव नलिने र गह्रौं सामानहरु नउठाउने साथै परिवारले विशेष रुपमा ध्यान दिएमा पाठेघर खस्ने समस्या र संक्रमणको जोखिमबाट बच्न सकिने सिनियर अनमी गौतमको भनाइ छ । मानव जीवनमा सबैभन्दा ठूलो धन स्वास्थ्य नै भएकाले स्वास्थ्यको विशेष हेरचाहको साथमा पोषणमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

बेनी नगरपालिकाले वर्षेनी महिलालक्षित भिआईए क्याम्पहरु सञ्चालन गर्दै आइरहेको छ । बेनी नगरपालिकाको नगर उपप्रमुख ज्योति लामिछानेले आम नगरवासीहरुको स्वास्थ्यको ख्याल गर्दै नगरपालिकामार्फत घरघरमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाहरुमा नसर्ने रोगको स्क्रिनिङ क्याम्प सञ्चालन, महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा आङ खस्ने रोगको पहिचानको लागि भिआईए परीक्षणलगायत विभिन्न शिविर तथा कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो । आगामी दिनहरुमा पनि स्वास्थ्य सम्बन्धी अन्य शिविर तथा कार्यक्रमहरुलाई निरन्तरता दिइने बेनी नगरपालिकाले जनाएको छ ।



