असोज ३, २०८२ शुक्रवार । रुप्से न्यूज
म्याग्दी– संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारस्थित वीरेन्द्रचोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । जिल्लास्तरीय कार्यक्रम आयोजक समिति म्याग्दीको आयोजना र जिल्लास्थित विभिन्न गैरसरकारी संघसंस्थाहरुको समन्वयमा शुक्रवार साँझ दीप प्रज्वलन गरिएको हो ।

दीप प्रज्वलन कार्यक्रमको संविधानसभा सदस्य एवं पूर्वमन्त्री नरदेवी पुनले शुभारम्भ गर्नुभएको थियो । पूर्वमन्त्री पुनसँगै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी र प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापा लगायतले दीप प्रज्वलन गर्नुभयो । कार्यक्रमको गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीले संयोजन गरेको थियो ।
कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय र संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु पनि दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका थिए । दीप प्रज्वलन कार्यक्रमको गैसस महासंघ म्याग्दी शाखासहित मिलन म्याग्दी, मानवअधिकार तथा शान्ति समाज म्याग्दी, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) म्याग्दी, रिक म्याग्दी, कदम म्याग्दी, संगम म्याग्दी र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले दीप प्रज्वलन कार्यक्रमको समन्वय गरेका थिए ।

वि.सं. २०७७ सालमा जारी भएको नेपालको नयाँ चुच्चे नक्सासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको थियो । नेपाली जनताको लामो समयको संघर्ष, बलिदान र त्यागबाट २०७२ साल असोज ३ गते आजैका दिन संविधान सभाबाट नेपालमा नयाँ संविधान जारी भएको थियो । सोही दिनको सम्झनास्वरुप हरेक वर्ष असोज ३ गतेका दिन विविध कार्यक्रमहरुको आयोजना गरेर संविधान दिवस मनाइँदै आइएको छ । कार्यक्रमको सञ्चालन गैसस महासंघ म्याग्दीका अध्यक्ष दीपक पौडेलले गर्नुभएको थियो ।



