असोज ९, २०८२ बिहीबार । रुप्से न्यूज
म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–९ नम्बर वडामा विजयादशमी तथा शुभदिपावलीको अवसर पारेर तेस्रो वडा अध्यक्ष कप तथा प्रथम नेप्टेचौर कप–२०८२ सुरु भएको छ । जनहित युथ क्लब बेनी नगरपालिका ९ नेप्टेचौर म्याग्दीको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगिताको बुधवार एक समारोहबीच उद्घाटन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले नगरपालिकामार्फत खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले खेल क्षेत्रमा संघीय र प्रदेश सरकारबाट आश्वासनबाहेक केही नपाइए पनि नगरको स्रोतसाधनको प्रयोग गरी खेलकुदजन्य क्षेत्रमा लगानी गरिएको बताउँदै खेलकुदले मानसिक तथा शारिरीक वृद्धि विकासमा समेत सहयोग पु¥याउने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जन शर्मा, प्रवक्ता एवं बेनपा ७ नम्बर वडाका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, ९ नम्बर वडाध्यक्ष चक्रबहादुर केसी र म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटनसत्र क्लब अध्यक्ष बिपिन चोखालको अध्यक्षता, सदस्य अमिता खत्रीको स्वागत र शंकर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा पुरुष तथा महिला भलिबल, आमा समूहस्तरीय नृत्य, पञ्जेबाजा, खुल्ला नृत्य, महिला लठो तान्ने र छेलो फाल्ने प्रतियोगिताहरु रहेका छन् भने चर्चित कलाकारहरुको समेत साङ्गीतिक प्रस्तुतीहरु रहने मेला संयोजक विजय चोखालले जानकारी दिनुभयो । वडाको खेलकुद विकासका लागि वडा कार्यालयले पछिल्लो तीन वर्षयता विभिन्न वस्तीमा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।

उक्त प्रतियोगितामा पुरुष भलिबलका विजेतालाई नगद एकलाख ११ हजार एकसय ११ र उपविजेतालाई ६६ हजार छ सय ६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । २० वर्षभन्दा कम उमेर समूहको भलिबल प्रतियोगिताका विजेतालाई ४५ हजार पाँचसय ५५ र उपविजेतालाई २५ हजार पाँचसय ५५ रुपैयाँसहित पुरस्कारको व्यवस्था गरिएको छ ।
यसैगरी भेट्रान्स भलिबलको विजेतालाई ८८ हजार आठसय ८८ र उपविजेतालाई ५५ हजार पाँचसय ५५ रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको खेलकुद संयोजक नारायण कार्कीले जानकारी दिनुभयो । भेट्रान्स भलिबलको विजेतालाई ८८ हजार आठसय ८८ र उपविजेतालाई ५५ हजार पाँचसय ५५ रुपैयाँ पुरस्कारको व्यवस्था रहेको छ । खेलकुदको विकास र खेल प्रतिभा पहिचानको लागि वडा अध्यक्ष कपले सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।



