• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

असोज ९, २०८२ बिहीबार । रुप्से न्यूज

म्याग्दी– नेपालीहरुको महान् पर्व दसैँलगायत चाडपर्वहरुलाई लक्षित गरेर हिमाली जिल्ला म्याग्दीमा यात्रु सहायता कक्ष स्थापना भएको छ । दसैँ तिहारको समयमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै सहजीकरण गर्नका लागि म्याग्दीको बेनीस्थित कालीपुल र दरबाङमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन गरिएको हो ।

सडक मार्गबाट म्याग्दी भित्रिने नाकामा रहेको कालीपुल बसपार्कदेखि म्याग्दीबाट लामो तथा छोटो दूरीमा छुट्ने यातायातका साधनहरूलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । चाडपर्वमा यात्रुलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालयले बसपार्कमा रहेको ट्राफिक कार्यालय परिसरमा यात्रु सहायता कक्ष स्थापना गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो ।

चाडपर्वमा सर्वसाधारणसँगै म्याग्दी र मुस्ताङ आवतजावत गर्ने तीर्थयात्री तथा पर्यटक र यातायात व्यवसायीलाई सहयोग एवं सहजीकरण गर्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहायता कक्षमा दसैँ, तिहार र छठपर्वको अवधिभर नियमित रूपमा सुरक्षाकर्मीहरु परिचालन गरिने भएको छ । यसैगरी चाडपर्वलक्षित सुरक्षा योजना अन्तर्गत सर्वसाधारण यात्रुलाई सार्वजनिक यातायातका साधनमार्फत यात्रा गर्दा आइपर्ने समस्या हटाउनका लागि मालिका गाउँपालिकाको केन्द्र दरवाङमा पनि यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ ।

गएको सोमबार स्थापना गरिएको यात्रु सहायता कक्षको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री र प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले चाडपर्वको समयमा सर्वसाधारणलाई सहज र सुरक्षित रूपमा यात्रा गर्ने व्यवस्था मिलाउन यातायात व्यवसायी तथा सुरक्षाकर्मीहरूलाई आग्रह गर्नुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल परियारले सहायता कक्ष सञ्चालनसहित दुर्घटना न्यूनीकरण गर्न नियमित सवारी चेकजाँचलाई निरन्तरता दिएको बताउनुभयो ।

उता हिमालपारीको जिल्ला मुस्ताङमा पनि यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा आएको छ । चाडपर्वमा लामो तथा छोटो दूरीको यात्रामा हिँड्ने यात्रुको सुरक्षित यात्रा र ट्राफिक सचेतनाको लागि घरपझोङ गाउँपालिका–३, पुथाङ एयरपोर्टमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङका प्रमुख जनक श्रेष्ठले जानकारी दिनुभयो । यात्रु सहायता कक्षमा बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत देशका विभिन्न जिल्लाहरुबाट मुस्ताङ भित्रिने र बाहिरिने यात्रुलाई सहज हुने उहाँले बताउनुभयो ।

यात्रु सहायता कक्षले क्षमता भन्दाबढी यात्रु राखेको, तोकिएको भन्दा धेरै भाडा लिएको विषयमा चेकजाँच गर्ने, यात्रुबाट चालक वा यात्रु चालकबाट असुरक्षित भएको, सवारीसाधनको अवस्था, ट्राफिक नियमको पालना गरे नगरेको र रुट पहिचानमा अलमल पर्ने निजी तथा भाडाका सवारीसाधनलाई समेत सहज हुने गरी सेवा प्रवाह गरिने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यात्रु सहायता कक्षको उद्घाटन कार्यक्रममा मुस्ताङका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामा लगायतको उपस्थिति रहेको थियो ।

चाडपर्वको समयमा सर्वसाधारणलाई सहज र सुरक्षित रूपमा यात्रा गर्ने व्यवस्था मिलाउन यातायात व्यवसायीलाई समेत अनुरोध गरिएको छ । चाडपर्वमा यात्रुको चाप बढी हुने भएकाले यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रुहरु बोक्ने, ट्राफिक नियमको उल्लङ्घन गर्ने जस्ता घटनालाई रोक्न जिल्ला भित्रका सबै सडक सञ्जालहरुमा प्रहरीसहितको टोली समेत परिचालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीले यात्रु वा चालकलाई कुनै समस्या परेमा तुरुन्तै निःशुल्क टेलिफोन नं. १०० मा फोन गर्न पनि अनुरोध गरेको छ ।  दसैँ तिहारको विदामा मुस्ताङमा घुम्न जाने आन्तरिक पर्यटकहरुको निकै चाप हुने गर्दछ ।

यात्रु सहायता कक्षमा यातायात व्यवसायी, चालक र यात्रुमाथि हुन सक्ने दुव्र्यवहार, सवारीसाधनको तोडफोड तथा क्षतिलाई रोक्न यात्रु सहायता कक्षको अवधारणा अगाडि सारिएको हो । ट्राफिक तथा यातायात सम्बन्धी विभिन्न सूचना एवं जानकारीहरु लिनेदिने, चाडपर्वको नाममा हुने बिकृति, विसङ्गति र अपराधको न्यूनीकरण गर्नका लागि पनि यात्रु सहायता कक्षले सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रहरीले यात्रु वा चालकलाई कुनै समस्या परेको खण्डमा निःशुल्क टेलिफोन नं. १०० र १०३ मा फोन गर्न समेत अपिल गरेको छ ।