• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

असोज २२, २०८२ बुधवार । रुप्से न्यूज

म्याग्दी– पछिल्लो समय जन्मदिन मनाउने तरिका फरक हुँदै गएको छ । आफ्नो जन्मदिनमा मानिसहरुले सामाजिक क्षेत्रमा लगानी गर्ने, गरिब, दिनदुःखी तथा बिरामीलाई आर्थिक सहयोग गर्ने, शैक्षिक संस्थालाई पुस्तकहरु उपहार दिने, जेहेन्दार विद्यार्थीलाई सघाउने र विद्यालयलाई आर्थिक तथा जिन्सी सहयोग जस्ता कार्यहरु गरेको पाइन्छ ।

यसैक्रममा म्याग्दीका एकजना युवा व्यवसायीबाट आफ्नो जन्मदिनको अवसर पारेर बुधवार विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको बेनी नगरपालिका–६, नम्बर वडाका युवा व्यवसायी नारायण जिसीले आफ्नो जन्मदिनको अवसरमा बेनपा–५, चिप्लेटीमा सञ्चालित डिम्ब आधारभूत विद्यालयलाई नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

उक्त विद्यालयमा आवासीय सुविधासहित अध्ययनरत बालबालिकाहरुलाई लक्षित गर्दै व्यवसायी जिसीले आफू संस्थापक अध्यक्ष रहेको संस्था गंगा जिसी फाउण्डेशन म्याग्दीमार्फत आर्थिक सहयोग गर्नुभएको हो । म्याग्दी उद्योग वाणिज्य संघको महासचिव समेत रहनुभएका व्यवसायी जिसीले आफ्नो जन्मदिनको अवसर पारेर सामाजिक तथा शैक्षिक क्षेत्रमा थोरै भए पनि योगदान पुगोस् भन्ने उद्देश्यसहित आवासीय रुपमा अध्ययनरत विद्यार्थीहरुको अध्ययन, अध्यापनको कार्यलाई सहज बनाउन सहयोग गरेको जानकारी दिनुभयो ।

फाउण्डेशनको संस्थापक अध्यक्ष जिसीले जिल्लाको शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिकलगायत विभिन्न क्षेत्रमा फाउण्डेशनमार्फत सहयोग गर्दै आइरहनुभएको छ । प्रत्येक वर्ष जन्मदिनमा आर्थिक सहयोग गर्दै आउनुभएका युवा व्यवसायी जिसीले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिने बताउनुभयो । उता डिम्ब आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर खत्री (गोपाल)ले आर्थिक सहयोग गरेकोमा व्यवसायी जिसीलाई धन्यवाद दिँदै सहयोगको सही सदुपयोग गरिने जानकारी दिनुभयो ।

वि.सं. २०४१ सालमा स्थापना भएको डिम्ब आधारभूत विद्यालयमा अहिले बाल शिक्षादेखि कक्षा ५ सम्म अध्ययन तथा अध्यापन हुँदै आइरहेको छ भने कुल ३१ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले बताउनुभयो । विद्यालयमा सरकारी दरबन्दी र निजी स्रोतसहित कुल ७ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन् ।