• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

कात्तिक ५, २०८२ बुधवार । रुप्से न्यूज

म्याग्दी– नेपाली साङ्गीतिक क्षेत्रका लोकप्रिय गायक एवं सर्जक प्रकाश दूतराजको हालै बजारमा आएको नयाँ गीत ‘छैन र माया’ एक महिना नपुग्दै करोड क्लबमा प्रवेश गरेको छ । बडादसैँको अवसर पारेर सार्वजनिक भएको गीतले छोटो समयमै युट्यूवमा एक करोडभन्दा धेरी भ्यूज पाएको हो ।

गायक दूतराज र मेलिना राईको स्वर रहेको यस गीतमा म्याग्दीको मंगला गाउँपालिका–२, सल्यान घर भई हाल बेनी नगरपालिका–८, शिक्षामार्गमा बस्ने अञ्जली जिसीले अभिनय गर्नुभएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने छुसाङ र तेताङ गाउँमा छायाङ्कन गरिएको गीतको म्यूजिक भिडियोलाई बुधबारसम्म १ करोड ५ लाखभन्दा बढीले हेरेका छन् ।

‘छैन र माया’ गीतको बोलबाट अभिनयमा डेब्यू गर्नुभएकी कलाकार जिसीको गायक प्रकाशसँगै म्यूजिक भिडियोको शीर्ष भूमिकामा अभिनय तथा नृत्य रहेको छ । पोखराको ग्यालेक्सी कलेजमा कक्षा ११ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत जिसीको साङ्गीतिक क्षेत्रमा देखाएको रुचिसँगै पहिलो म्यूजिक भिडियोले नै करोड क्लबमा प्रवेश गरेपछि बुधवार बेनीमा कलाकार जिसीका परिवार, आफन्त र कलाकारले केक काटेर खुसियाली समेत साटेका छन् ।

भिडियोमा गरेको मेहनतले यो उचाई पाएकोमा मोडेल जिसीले गीतलाई दिएको मायाले आफू निकै खुशी भएको र आगामी दिनहरुमा अझै राम्रो काम गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । सोही अवसरमा उहाँले अभियनबाट प्राप्त पारिश्रमिकमध्ये पाँचहजार रुपैयाँ नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आपत्कालीन कोषका लागि उपाध्यक्ष अमित विश्वकर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग ग्रहणपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको गण्डकी प्रदेश सदस्य समेत रहनुभएका उपाध्यक्ष विश्वकर्माले गायक दूतराजको लोकप्रितासँगै मोडेलको भूमिकामा अञ्जलीको मेहनतले पनि गीतले छोटो समयमा दर्शक र स्रोताको साथ पाएको बताउनुभयो । सोही अवसरमा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष एवम् मोडेल अञ्जलीका बुबा धुर्ब जिसीले गीत, सङ्गीतबाट म्याग्दीलाई चिनाउन गायक दूतराजले पु¥याएको योगदानबारे प्रशंसा गर्नुभएको थियो ।

यस अगाडि गायक दूतराजको नेपाली सङ्गीतको क्षेत्रमा छोटो समयमा करोड भ्यूज पाउनेमा ‘रिमै’ बोलको गीत समेत पर्दछ । उहाँको जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’, आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको समेत करोड क्लबका गीतहरु हुन् । प्रेम सम्बन्ध, समाजमा दबिएका र दबाइएकाहरुको आवाजहरुलाई गायक दूतराजले गीतमार्फत उजागर गर्ने प्रयास गर्दै आइरहनुभएको छ ।