• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

कात्तिक ९, २०८२ आइतबार । रुप्से न्यूज

म्याग्दी– हत्या र लुटपाट गरेर फरार भएका एकजना प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेको माझखेत बस्ने ६५ वर्षीय कर्णबहादुर घर्ती क्षत्रीको हत्यामा संलग्न साविक अर्थुङ्गे गाविस–८, हाल बेनपा–६, जरबुटा बस्ने ४३ वर्षीय कृष्ण भन्ने ठहर बहादुर घर्ती क्षत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएको कात्तिक १ गते घरमै लुकिछिपी बसेको अवस्थामा प्रतिवादी क्षत्रीलाई पक्राउ गरी आवश्यक अनुसन्धानको कार्य अगाडि बढाइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । प्रतिवादीले वि.सं. २०६२ साल भदौ ६ गते घर बाहिर सुतिरहेको अवस्थामा कर्णबहादुरको टाउकोमा चिरुवा दाउरा प्रहारबाट हत्या गरी भागेको उहाँले जानकारी दिनुभयो ।

घर्तीले कर्णलाई टाउकोमा दाउरा प्रहार गरी बेहोस बनाएपछि उहाँकी श्रीमती ईन्द्रकुमारी घर्ती क्षत्रीलाई समेत कुटपिट गरेर घाइते बनाई कान र घाँटीमा लगाएको सुनका गरगहना रिङ, तिलहरीलगायत लुटेर फरार भएको प्र्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । प्रतिवादी घर्ती यसअघि जबरजस्ती करणी मुद्दामा पनि दोषी ठहर भई जिल्ला कारागार कार्यालयबाट भागेका थिए । पक्राउपछि कर्णको हत्याको घटनामा उनले आफ्नो संलग्नता रहेको स्वीकार गरेपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिवादी क्षत्री जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि जिल्ला कारागारमा रहेको अवस्थामा वि.सं. २०६० साल चैत्र ७ गते बेनी आक्रमणको क्रममा भागेका थिए । वि.सं. ०५९ साल पुस महिनामा क्षत्री जबरजस्ती करणी मुद्दामा कारागार चलान भएकोमा ०६६ साल जेठ १६ गते म्याग्दी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा उनलाई १० वर्षको कैद सजाय फैसला भएकोमा ८ वर्ष ९ महिना ५ दिन कैद भुक्तान गर्न अझै बाँकी रहेको छ । प्रतिवादी क्षत्रीले जबरजस्ती करणीसँगै अब कर्तव्य ज्यान मुद्दामा पनि थप सजाय पाउने भएका छन् ।

अहिले जिल्ला अदालत म्याग्दीबाट पहिलोपटक १० दिनको म्याद थप गरेर अनुसन्धानको कार्यलाई अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ । घटनापछि प्रतिवादी क्षत्री भारतको मुम्बईमा ५ वर्ष बसेर भारतीयसँग विवाह गरी ०६७ सालमा पोखराको पि.एन. क्याम्पस अगाडि विद्यार्थी खाजा घर समेत सञ्चालन गरेका थिए । हाल क्षत्री ज्यामी तथा मिस्त्रीको कामको सिलसिलामा पोखरा, स्याङ्जा, डुम्रे, गोरखा, म्याग्दीको दरबाङलगायत क्षेत्रमा पुगेर काम गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

क्षत्री गएको असार महिनादेखि गाउँघरमा लुकिछिपी आएर रातको समय घरमा बसेर जाने गरेको गोप्य सूचनाको आधारमा प्रनाउ थापाको नेतृत्वमा गएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो । क्षत्रीले पैसा सापटी मागेको अवस्थामा आफन्तले नदिएपछि आक्रमणको शैलीमा प्रस्तुत हुने र गाउँमा समेत त्रास फैलाउने पृष्ठभूमी समेत रहेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।