कात्तिक १९, २०८२ बुधवार । रुप्से न्यूज
म्याग्दी– पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि)का पत्रकारिता सम्बन्धी दुईवटा पुस्तक बुधवार सार्वजनिक भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका ‘लेखन र सम्पादन’ तथा ‘लेखन कला’ विषयका पुस्तकहरु सार्वजनिक गरिएको हो ।
सेफर्ड कलेज काठमाडौंमा आयोजित एक समारोहबीच राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र सेफर्ड कलेज काठमाडौंका प्रमुख कविता शर्माले संयुक्त रुपमा सो पुस्तक विमोचन गर्नुभयो । सेफर्ड कलेज काठमाडौंमा आयोजना गरिएको सो पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारिता अध्ययन मात्र नभई विषयगत ज्ञान, सिप र लेखन कलाका लागि दुवै पुस्तक उपयोगी हुने बताउनुभयो ।

नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष र सेफर्ड कलेजका पूर्व प्रमुख समेत रहनुभएका डा. आचार्यले धौलागिरिद्वारा लेखन तथा प्रकाशित पुस्तकहरुले पत्रकारिता क्षेत्रको विकास एवं पत्रकारिता विषय अध्ययन गर्नेहरुका लागि सहयोगी हुने उल्लेख गर्नुभयो । कार्यक्रममा सेफर्ड कलेजका प्रमुख शर्माले पाठ्यक्रममा आधारित पुस्तक प्रकाशन हुनु आफैमा पनि खुशी र गौरवको विषय भएको बताउँदै प्रकाशित पुस्तकले अध्ययन तथा अध्यापनमा समेत सहयोग पुग्ने बताउनुभयो ।
पुस्तकका लेखक विनोद धौलागिरिले आफूहरुले अध्ययन गर्दा पाठ्यक्रममा आधारित पुस्तकको अभाव भएको बताउँदै त्यो अभावलाई पूरा गर्नको लागि पुस्तक तयार गरेर प्रकाशित गरेको जानकारी दिनुभयो । दुवै पुस्तक पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मास्टर्स इन् मिडिया टेक्नोलोजी विषयको प्रथम सेमेष्टरमा अध्यापन हुन्छ । वास खबर डिजिटल पत्रिकाका सम्पादक धौलागिरि नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको केन्द्रीय परिषद् सदस्य हुनुहुन्छ । उहाँ जिल्लाको बेनी नगरपालिका ६ नम्बर वडा अर्थुङ्गे निवासी पनि हो ।


