कात्तिक २४, २०८२ सोमबार । रुप्से न्यूज
म्याग्दी– ‘स्वस्थ पशु समृद्ध किसान, पूर्णखोप अभियान’ भन्ने नारासहित पशु चौपायामा पूर्णखोप सम्बन्धी वडास्तरीय अभिमुखीकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा सोमबार पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–१ गूर्जामा कार्यक्रम गरिएको हो ।
स्थानीय किसानहरुले पालेका पशु चौपायालाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशु चौपायामा पूर्णखोप सम्बन्धी विषयमा अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ । रोग लागेर पशु चौपायाको क्षति नहोस् भनेर पशुपालक किसानहरुलाई पूर्णखोप सम्बन्धी विषयमा पशु प्राविधिकसहितको टोलीले अभिमुखीकरण गराएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी, धवलागिरि गाउँपालिकाको पशु सेवा शाखा र वडा कार्यालयले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पशु चौपायाहरुलाई निरोगी बनाउन अनिवार्य रुपमा पूर्णखोप लगाउनको लागि किसानहरुलाई अनुरोध गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै धवलागिरि गाउँपालिका वडानम्बर १ गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले पशु चौपायाहरुलाई निरोगी बनाएर उत्पादन वृद्धि गर्नका लागि अनिवार्य रुपमा सबै किसानहरुले खोप लगाउनुपर्ने बताउनुभयो । स्वस्थ पशुबाट उत्पादन भएको पशुजन्य पदार्थहरुको उपभोग गरेमा मात्रै मानवको पनि स्वास्थ्य राम्रो हुने भएकाले पशु चौपायालाई खोप लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले किसानको हितलाई प्राथमिकतामा राखेर पशु चौपायालाई निःशुल्क रुपमा खोप लगाउने अभियान सञ्चालन गरेको हुँदा अभियानको सही तरिकाले सदुपयोग गरी फाइदा लिन उहाँले अनुरोध समेत गर्नुभयो ।
पशु सेवा कार्यालय म्याग्दीका पशु स्वास्थ्य अधिकृत सुभाष रेग्मीले खोपको माध्यमबाट पशुको क्षति न्यूनीकरण हुनुका साथै स्वस्थ पशुजन्य पदार्थको उत्पादन हुने भएकाले त्यसले मानव स्वास्थ्यमा समेत राम्रो प्रभाव पार्ने जानकारी दिनुभयो । खोप नलगाएका भेडाबाख्रा तथा पशु चौपायाहरु बिक्री वितरणका साथै उपभोग गर्न समेत नपाइने भएकाले अनिवार्य रुपमा पशु चौपायालाई खोप लगाउन उहाँले किसानहरुलाई सुझाव दिनुभयो ।

कार्यक्रममा धवलागिरि गाउँपालिकाको पशु सेवा शाखा प्रमुख चन्द्रकला दाहालले पशु चौपायाहरुलाई निरोगी बनाउन र स्वस्थ पशुजन्य उत्पादनमा गाउँपालिकाले जोड दिएको बताउनुभयो । पशु चौपायाहरुमा पूर्णखोप अभियानलाई प्रभावकारी बनाउनको लागि किसानहरुले पनि चासो दिनुपर्ने उहाँले बताउनुभयो । गाई, भैंसीमा लाग्ने लम्पीस्किन तथा भेडा, बाख्रामा लाग्ने पिपिआर रोगविरुद्ध खोप निःशुल्क उपलब्ध हुने भएकाले खोप लगाउन पशु प्राविधिकहरु किसानको गोठसम्म पुग्ने उहाँले बताउनुभयो ।
पशु सेवा कार्यालयका पशु स्वास्थ्य प्राविधिक मणिलाल सापकोटाले सञ्चालन गर्नुभएको अभिमुखीकरण कार्यक्रममा गूर्जाका करिब ५० जना पशुपालक किसानहरुले सहभागिता जनाएका थिए । खोप र पशु स्वास्थ्यको बारेमा गाउँमा आएर सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेकोमा पशुपालक किसान दुर्गाबहादुर विकले खुसी व्यक्त गर्नुभयो । आगामी दिनमा पनि भेडा, बाख्रामा लाग्न सक्ने रोग र उपचार विधिको बारेमा सम्बन्धित निकायबाट अझै प्रभावकारी रुपमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।


