• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

मंसिर ४, २०८२ बिहीबार । रुप्से न्यूज

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका ९ नम्बर वडा गलेश्वरमा बिहीबारदेखि बालाचतुर्दशी मेला–२०८२ सुरु भएको छ । गलेश्वर शिव युवा क्लबको आयोजना र गलेश्वरधाम आमा समूह तथा गलेश्वर बजार टोल विकास संस्थाको सहआयोजनामा बालाचतुर्दशी पर्व अन्तर्गत विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको हो ।

आउँदो बुधवारसम्म सञ्चालन हुने मेलामा पुरुष बास्केटबल, प्रौढ, महिला र पुरुष भलिबल तथा नृत्य प्रतियोगितालगायत कार्यक्रमहरु हुनेछन् । पुरुष भलिबलमा प्रथम हुनेलाई नगद एकलाख एकहजार एकसय ११, द्वितीयलाई ५१ हजार एकसय ११, पुरुष बास्केटबल र प्रौढ भलिबलतर्फ प्रथम तथा द्वितीयलाई क्रमशः नगद ७५ हजार एकसय ११ र ४० हजार एकसय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

यसैगरी महिला भलिबलतर्फ प्रथमलाई ५१ हजार एकसय ११ र द्वितीयलाई ३० हजार एकसय ११ रुपयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने मेला संयोजक लोकेन्द्र खड्काले जानकारी दिनुभयो । मेलाको अवधिभर राष्ट्रिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने आयोजकले जनाएका छन् । गलेश्वरमा बालाचतुर्दशी पर्वमा लाग्ने परम्परागत मेलाको निरन्तरता र यसलाई जगाउनको लागि हरेक वर्ष विविध खेलकुद प्रतियोगिताहरु आयोजना गरिँदै आएको क्लबका अध्यक्ष अमित पुनले बताउनुभयो ।

विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै पूर्व राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बीर)ले गलेश्वरको बालाचतुर्दशी मेला पुरानो र ऐतिहासिक भएकाले मेलालाई थप व्यवस्थित बनाएर निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले खेलकुद स्वास्थ्य, राष्ट्र र एकापसमा भाइचारा सम्बन्ध बलियो बनाउन समेत महत्वपूर्ण हुने बताउँदै जित र हारको विषय मात्र नभई लुकेर रहेका प्रतिभाको पहिचान, स्थानीय कला संस्कृतिको प्रवद्र्धन एवं खेल क्षेत्रको विकासमा सहयोगी हुने बताउनुभयो । गलेश्वरमा आयोजना हुने मेलाले परम्परागत रुपमा लगाइने बालाचतुर्दशी पर्वको उजागर गर्ने उहाँको भनाइ छ ।

आफु सांसद र छोटो कार्यकाल राज्यमन्त्री हुँदा जिल्लामा साढे एक अर्बको बजेट भिœयाउन सफल भएको स्मरण गर्दै पूर्व राज्यमन्त्री गर्बुजाले वर्तमान सरकारले बजेट कटौती गरेको आरोप लगाउनुभयो । सांसदसँगै राज्यमन्त्री हुँदा छोटो समयमा पनि जिल्लाको विकासका लागि ठूलो बजेट ल्याउन आफूले पहल गरेको बताउँदै उहाँले अहिलेको सरकारले केही नदी नियन्त्रण योजनासहित ४२ करोड बढीका योजनाहरु कटौती गरेको हुँदा योजना कटौतीसहित बजेट फिर्ता नगर्न छलफल र पहल गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, क्लब र बजार टोल विकास संस्थाका सल्लाहकार बालकुमार लामिछाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । मेला संयोजक तथा टोल विकास संस्थाका सदस्य खड्काको सञ्चालनमा सम्पन्न उद्घाटन समारोहमा गलेश्वरधाम आमा समूहका अध्यक्ष फुलकुमारी रोकाले स्वागत गर्नुभएको थियो । उद्घाटन समारोहमा विभिन्न आमा समूहहरु, संघसंस्था र क्लबका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।