मंसिर ५, २०८२ शुक्रवार । रुप्से न्यूज
म्याग्दी– पछिल्लो समय समुदायबाट गाई लोप हुँदै जान थालेपछि संरक्षण गर्नका लागि अभियान सुरु भएको छ । म्याग्दीको बेनी नगरपालिका २ नम्बर वडा ज्यामरुककोटको गौश्वाँरामा गोबर्धन गौशाला अर्थात् (गौ–धाम) स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।

बागलुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पञ्चकोटबाट दुईवटा गाई र दुईवटा बाच्छा ल्याएर गौश्वाँरामा गौशाला सञ्चालन गरिएको छ । शुक्रवार गौशाला शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनचार्यले गाईको मलमुत्र तथा दुध, दही र घ्यु धार्मिक तथा सामाजिक क्षेत्रमा मानिसका लागि नभई नहुने भएकाले गाईको संरक्षण अभियान सञ्चालन गरिएको बताउनुभयो ।
स्वामी कमलनयनचार्यले गौमाता अर्थात् गाईको शरिरका सबै ठाउँमा ३३ कोटी देवीदेवताको बास भएको र गौमाता गोबरमा गएर बसेको प्रसङ्ग उल्लेख गर्दै गाईको गोबरले लिपपोत गरेको ठाउँमा पूजापाठ र दिप प्रज्वलन गर्दा सुखशान्ति मिल्ने बताउनुभयो । उहाँले संसारको वैभव भएको लक्ष्मी माता गाईको गोबरमा गएर गौमाता बसेको भन्दै समुदायबाट लोकल, वैदिक र राष्ट्रिय गाई हराएर गएपछि नेपालको दूर्दशा सुरु भएको टिप्पणी गर्नुभयो । गौमाताको महत्व धेरै रहेकाले गौशाला स्थापना गरी गाईको संरक्षण सुरु गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा गौश्वाँरा गोबर्धन गौधाम मूल समितिका अध्यक्ष डम्बरबहादुर पोखरेलले गौश्वाँरामा सुरु गरेर सञ्चालनमा ल्याइएको गौशालामा बाँधिएका गाईहरुको लागि दाना, घाँसपात र नुनलगायत गौमातालाई आवश्यक दानापानीलगायत सामानहरु सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । बेनी नगरपालिका २ नम्बर वडाका वडा अध्यक्ष यामबहादुर क्षत्रीले गौशालामा रहेका गौमाताहरुको संरक्षणमा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताउँदै गौमाताको सङ्ख्या वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

बेनपा २ का पूर्व वडाध्यक्ष एवं महायज्ञ आर्थिक सङ्कलन समितिका संयोजक हिराबहादुर थापा र महायज्ञ सम्पादन समितिका संयोजक क्या. मिनबहादुर कार्कीले गौश्वाँरा अर्थात् गाईहरु चर्ने ठाउँ भएकाले पछिल्लोपटक हिन्दु धर्मबाट गाई लोप हुने अवस्थामा पुगेको हुँदा गाईको संरक्षणको आवश्यकता औल्याउनुभयो । सोही कार्यक्रममा श्रीवन पञ्चमहालक्ष्मी काठमाडौँका स्वामी वासुदेव प्रप्रन्नाचार्यले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम मूल समितिका सचिव बद्रीप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । स्वामी कमलनयनाचार्यको सङ्कल्पमा गएको वैशाख १५ देखि ३० गतेसम्म गौश्वाँरामा पश्चिम नेपालमै पहिलोपटक आयोजित गोवर्धन महायज्ञमा एक करोड २६ लाख ८५ हजार आठसय १२ रुपैयाँ आर्थिक सङ्कलन भएको थियो । सोही रकमबाट अहिले गौशाला स्थापना तथा सञ्चालन गरी गाईपालन सुरु गरिएको छ भने थप संरचनाहरु बनाउने तयारी छ ।



