पुस ८, २०८२ मङ्गलवार । रुप्से न्यूज
म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयको आयोजनामा मङ्गलवारदेखि ७३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन सुरु भएको छ । विद्यालय स्थापना भएको ७३ वर्ष पुगेको अवसर पारेर विद्यालयद्वारा विविध कार्यक्रमसहित वार्षिकोत्सव र अभिभावक भेला आयोजना गरिएको हो ।

विद्यालयको वार्षिकोत्सव तथा अभिभावक भेलाको अवसरमा कक्षा १० सम्मको अन्तरमावि विज्ञान सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विभिन्न सातवटा विद्यालयहरुले सहभागिता जनाएको विज्ञान सामग्री प्रदर्शनीमा बेनी बोर्डिङ सेकेण्डरी स्कुल प्रथम भएको छ । यसैगरी न्यू वेष्ट प्वाइन्ट आवासीय मावि द्वितीय, आयोजक प्रकाश मावि तृतीय र न्यू होराईजन आमावि पर्वत बेनी सान्त्वना भएको विद्यालयले जनाएको छ ।
प्रदर्शनी कार्यक्रममा विजेता विद्यालयहरुले क्रमशः नगद सातहजार, पाँचहजार, तीनहजार र एकहजार पाँचसय रुपैयाँसहित प्रमाणपत्र पाएका छन् । जिल्लाकै पुरानो र एकमात्र विज्ञान विषयको कक्षा सञ्चालन गरेको प्रकाश माविले विज्ञान विषयमा विद्यार्थीहरुको आकर्षण बढाउने उद्देश्यसहित विज्ञान सामग्री प्रदर्शनी कार्यक्रम आयोजना गरेको हो । विद्यालयको ७३औं वार्षिकोत्सव तथा अभिभावक भेलाको अवसरमा आयोजित विज्ञान सामग्री प्रदर्शनी कार्यक्रमको बेनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले उद्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै शाखा प्रमुख भण्डारीले प्रकाश माविमा आयोजित विज्ञान सामग्री प्रदर्शनी कार्यक्रमले आविष्कार, अनुसन्धान र नवप्रवद्र्धनका लागि महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो । उहाँले विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट र दक्षता हासिल गरी ज्ञानको अर्थशास्त्रलाई स्थापित गर्न सकेको हुँदा विश्वका सम्पन्न मुलुकहरु अगाडि बढेको बताउँदै विज्ञान र आविष्कारले देशको विकास हुने बताउनुभयो ।

कार्यक्रममा विज्ञान सामग्री प्रदर्शनीको निर्णायक संयोजक एवं पूर्व शिक्षक रामप्रसाद सुवेदीले विज्ञानले समाजमा घट्ने विभिन्न घटनालाई गहिरिएर हेर्ने, घटनाको राम्रोसँग अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउने प्रक्रिया नै विज्ञान भएको बताउनुभयो । उहाँले विज्ञानलाई राम्रोसँग बुझ्न सक्ने विद्यार्थीले आफ्नो जीवनका हरेक समस्यालाई सही तरिकाले व्यवस्थापन गरेर अगाडि बढ्न सक्ने बताउनुभयो ।

उक्त कार्यक्रमको अवसरमा छैटौँ बेनी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने विद्यार्थी खेलाडीहरु र शिक्षकलाई पुरस्कृत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालको स्वागत र सहायक प्रअ विनय श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यालयका सहायक प्रअ टेकप्रसाद सुवेदीले विज्ञान सामग्री प्रदर्शनीको नियमहरुको बारेमा जानकारी गराउनुभएको थियो । विज्ञान सामग्री प्रदर्शनीमा सहभागी विद्यालयका विद्यार्थीहरुद्वारा हस्तकलाको प्रयोगबाट निर्माण गरिएका शैक्षिक तथा जीवनपयोगी सामग्रीहरु प्रस्तुत गरिएको थियो ।




