पुस १५, २०८२ मङ्गलवार । रुप्से न्यूज
म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि छनौट भएका योजनाहरुमध्ये दुई करोड ४९ लाख २० हजार रुपैयाँ बजेट बराबरको योजना तथा कार्यक्रमहरु संशोधन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २०औँ गाउँसभाले विभिन्न योजना र कार्यक्रमका लागि १९औँ गाउँसभाबाट विनियोजित बजेट तथा योजनाहरुलाई संशोधन गरेको हो ।

साथै गाउँपालिकाको आन्तरिक स्रोतबाट थप सातलाख २० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ । गाउँसभामा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको गत आर्थिक वर्षको यथार्थ आयव्यय विवरण तथा चालु वर्षको नीति तथा कार्यक्रम र बजेटमाथिको संक्षिप्त समीक्षात्मक प्रगति विवरण तथा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको बजेट तथा कार्यक्रम र आर्थिक ऐन संशोधन प्रस्ताव पेश गर्नुभएको थियो । उक्त प्रस्तावहरु गाउँ सभामा छलफल गरेपछि पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो ।

गएको असार ५ गते सम्पन्न १९औँ गाउँ सभाबाट चालु आर्थिक वर्ष ०८२/८३ का लागि ५१ करोड ७८ लाख ४० हजार रुपैयाँ बराबरको अनुमानित बजेट स्वीकृत गरिएकोमा पुस १० गतेसम्म संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोतबाट समेत गरी कुल २८ करोड ३६ लाख ८५ हजार रुपैयाँ राजश्व र अनुदान सङ्कलन भएर परिचालन गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँपालिकाले पुस १० गतेसम्म चालु खर्चतर्फ ३७ करोड २५ लाख रुपैयाँ बजेटमध्ये नौ करोड २४ लाख र पूँजीगततर्फ १४ करोड ५३ लाख रुपैयाँ बजेटमध्ये एक करोड ८६ लाख रुपैयाँ बजेट खर्च गरेको जनाएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्म जम्मा १२ दशमलव ८० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । जेनजी आन्दोलनले सिर्जित परिस्थिति, संघीय सरकारको अस्थिरताका कारणले बजेट कार्यान्वयन सम्बन्धी निर्देशिकामा भएको ढिलाई र द्विविधा उत्पन्न हुनु तथा उपभोक्ता समिति गठन समयमा नहुँदा बजेट कार्यान्वयनमा सुस्तता आएकाले कार्यतालिका बनाएर योजना र कार्यक्रमको कार्यान्वनयमा जोड दिइने पालिकाको भनाइ छ ।


