• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

पुस १६, २०८२ बुधवार । रुप्से न्यूज

म्याग्दी– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धवलागिरी गाउँपालिका कमिटीले आउँदो फागुन २१ हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी थालेको छ । ताकममा मङ्गलवार सम्पन्न नेकपा गाउँपालिका कमिटीको पार्टी एकतापछिको वैठकले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रीत हुने निर्णय गरेको हो ।

तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नेकपालगायत विभिन्न १७ वटा पार्टी तथा समूहहरु मिलेर बनेको नेकपाले एकताको आवश्यकता, औचित्यता, पार्टीको योजना, चुनावी मुद्दाका विषयमा कार्यकर्ता र जनतालाई बुझाउन वडा तथा वस्तीस्तरमा अभियान चलाउने भएको छ । नेकपाका धवलागिरी गाउँपालिका कमिटी सचिव चक्र पुनले पहिलो चरणमा वडा तहका कार्यकर्ताहरुलाई समसामयिक राजनीतिक विषयमा पार्टीका धारणाहरुको जानकारी लिने र दोस्रो चरणमा टोल टोलसम्म पुग्ने गरी कार्यक्रम बनाएको जानकारी दिनुभयो ।

वैठकमा नेकपाका केन्द्रीय सदस्य गोविन्द पौडेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको एमाले–कांग्रेस गठबन्धन सरकारले भ्रष्ट्राचारीको संरक्षण, कानुन कार्यान्वयनमा विभेदकारी व्यवहार प्रदर्शन, संवैधानिक निकायहरुमा राजनीतिक हप्तक्षेप र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि आन्दोलनमा उत्रिएका नवयुवामाथी दमन गरेको, नवयुवाहरुको आन्दोलनलाई स्वार्थ समूहले अपहरण गरेपछि सिंहदरबार, अदालत, सरकारी तथा व्यक्तिगत र सार्वजनिक सम्पत्ति क्षति हुने अवस्था आएको बताउनुभयो ।

केन्द्रीय सदस्य पौडेलले भन्नुभयो, “भदौको आन्दोलनमा नवयुवाहरुले उठाएको राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञहरुको मन्त्रीमण्डल बनाउने मुद्दामा माओवादीले संविधानमै फरक मत राखेको थियो । सुशासनको मुद्दामा केन्द्रीत भएपछि कांग्रेस र एमाले मिलेर प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित बनाएको तथ्यलाई जनतामाझ बुझाउनुपर्छ,” उहाँले भन्नुभयो “जेनजी पुस्ताले पनि माओवादीकै मुद्दालाई पछ्याएको हुँदा हामी उ्नीहरुको अभिभावक भएको तथ्य म्याग्दीमा विगतका चुनावमा ४० वर्ष मूनिका युवालाई जिताएर, सांसद र मन्त्री बनाउने तथा आगामी चुनावमा पनि नयाँ युवा अनुहारलाई अवसर दिइने भएकाले नेकपाको सन्देश लिएर जनताकहाँ पुग्नुहोस् ।”

नेकपाका केन्द्रीय सदस्य गमबहादुर श्रीषले विगतमा माओवादीमा भएको विभाजन र पहिलो संविधान सभामा प्राप्त जनमतको सदुपयोग गर्न नसकिएको आत्मसमीक्षा गर्दै एकताबद्ध भएर जनताको पक्षमा काम गर्ने प्रतिबद्धतासहित जनतामाझ आएको बताउनुभयो । प्राप्त राजनीतिक उपलव्धिको जगमा टेकेर सुशासन, राजनीतिक स्थायित्व, सामाजिक न्याय र समाजवादको मुद्दालाई बलियो बनाउन विचार मिल्नेहरुबीच एकता गरेर बनेको नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह पाँचकुने तारालाई स्थापित गराउनुपर्नेमा जोड दिनुभयो ।

युवा नेता तथा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले राजनीतिक दलले केही पनि नगरेको र समाजमा केही सुधारका कामै नभएको भन्ने भाष्य सिर्जना गराएर नकारात्मकता फैलाई नेपाललाई युक्रेन, बंगलादेश जस्तै बनाउन खोज्नेलाई चिनेर जनताको विकास, सुशासन र समृद्धीको चाहनालाई पुरा गर्नुपर्ने बताउनुभयो । “प्रविधिको दुरुपयोग गरेर समाजमा फैलाइएको नकारात्मकतालाई चिर्दै विगतमा भएका कमजोरीहरु सुधार गरेर जनतामाझ जानुको विकल्प छैन,” उहाँले भन्नुभयो “म्याग्दीमा नेपाली कम्युनिष्ट पार्टीले नेतृत्व गर्ने अवसर पाउँदा दिर्घकालीन महत्वका योजना भिœयाएर सफल कार्यान्वयन गर्न सकिन्छ भन्ने हामीले व्यवहारमै पुष्टि गरेको हुँदा उच्च मनोबलका साथ जनताकहाँ जानुहोस ।”

नेता अर्जुन थापाले राजनीतिक परिवर्तनको अगुवाई गरेको नेपाली कम्युनिष्ट पार्टीले सुशासनको जगमा देशमा राजनीतिक स्थिरता कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्ट्राचारको छानविनका लागि शक्तिशाली आयोग गठन, संवैधानिक निकायहरुलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन योग्यता र क्षमताको आधारमा अवसर दिने प्रणाली विकास गराउने मुद्दा अघि सारेको बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जनतामाझ गरेको प्रतिबद्धताअनुसार म्याग्दीमा सडक, विद्युत, खानेपानी, सिँचाइ, नदी नियन्त्रण, जलविद्युतलगायत आयोजनाहरु भिœयाएर समन्वय र सहजीकरण गरी कार्यान्वयनलाई सफल बनाउन लागेको बताउनुभयो । पार्टी एकताको भावना जनस्तरमा पु¥याउने, समसामयिक राजनीतिक परिवेश र पार्टीको नीति, योजना तथा कार्यक्रम, विगतमा सरकारमा रहँदा गरेका जनपक्षीय कामको बारेमा कार्यकर्तालाई प्रशिक्षित गर्ने, जनतालाई जानकारी गराउने, नागरिकको गुनासो, सुझाव र अपेक्षा बुझ्ने उद्देश्यले अभियान सुरु गरेको नेकपा धवलागिरीका अध्यक्ष रिमप्रकाश थापाले बताउनुभयो ।

उक्त कार्यक्रममा ४३ वर्ष शिक्षण पेशा गरेर हालै सेवानिवृत हुनुभएका ताकमका ठाकुरप्रसाद पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस भएका अर्जुनबहादुर थापा, कृष्णकुमार विश्वकर्मा, गमबहादुर श्रीसमगर, टेकबहादुर वि.क., दुर्गा कार्की (बानियाँ)सहितको टोलीले एकताको सन्देश र चुनावी तयारीका लागि गाउँ अभियानमा जुटेका हुन् ।