म्याग्दी– आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको एक समारोहबीच शुक्रवार आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको म्याग्दीका जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा र प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । कार्यालयको उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत थापाले निर्वाचन आयोगको कार्यतालिका अनुसार आसन्न निर्वाचनका लागि सम्पूर्ण प्रक्रियाहरु अगाडि बढाइने जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत न्यायाधीश थापाले स्वतन्त्र, निष्पक्ष, पारदर्शी र स्वच्छ तरिकाले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नको लागि जिल्लास्थित सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल, पत्रकारलगायत सबैसँग सहकार्य गर्दै स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न अगाडि बढ्ने बताउनुभयो ।सोही अवसरमा प्रमुख जिल्ला अधिकारी आचार्यले निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष हुने विश्वास व्यक्त गर्दै शान्तिपूर्ण र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउन जिल्ला प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आउँदो निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउनको लागि सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जिल्लाभित्र रहेका मतदाता, मतदानस्थल तथा हालसम्म गरिएको कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले निर्वाचनलाई सफल पार्ने दायित्व पत्रकारहरुको पनि भएकाले स्वतन्त्र र निष्पक्ष रुपमा कलम चलाउने प्रतिबद्धता जनाउनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधिका साथै उम्मेदवारहरुको उम्मेदवारी दर्ता, निर्वाचनका लागि कर्मचारीहरु परिचालन, निर्वाचन सम्बन्धी सामग्रीको व्यवस्थापनका साथै सबै मतदान स्थलसम्मको विवरणहरु उपलब्ध हुनेछन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि म्याग्दीमा कुल ८६ हजार ३ सय ९७ जना मतदाताहरु कायम भएका छन् ।

प्रतिनिधि सभातर्फ १ निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८२ वटा मतदानस्थल र १ सय १९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाको हिसाबले १५ वटा अति संवेदनशील, ५९ वटा संवेदनशील र ८ वटा मतदान स्थललाई सामान्य भनेर वर्गीकरण गरेको जनाएको छ ।


