• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि म्याग्दीमा नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ उम्मेदवार बन्नुभएको छ । एमाले म्याग्दीले सिफारिस गरेकामध्ये श्रेष्ठलाई शनिवार सम्पन्न पार्टी केन्द्रीय सचिवालयको वैठकले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले केन्द्रीय सदस्य समेत रहनुभएका उम्मेदवार श्रेष्ठ यसअघि वि.सं. २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि एमालेबाट उम्मेदवार बन्नुभएको थियो । उहाँ तत्कालीन नेपाली कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार खमबहादुर गर्बुजा (खम्बीर)सँग पराजित हुनुभएको थियो । एमालेबाट उम्मेदवार बन्नुभएका श्रेष्ठलाई जिल्लामा शालिन, भद्र र साधारण नेताको रुपमा चिन्ने गर्दछन् ।

उम्मेदवार श्रेष्ठ यसअघि एमाले गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य समेत हुनुहुन्थ्यो । उहाँ एमाले म्याग्दीको दुई कार्यकाल अध्यक्ष भई लामो समय पार्टीको नेतृत्व गर्नुभयो । जिल्लाको विभिन्न सामाजिक संघसंस्थामा समेत सफल नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका श्रेष्ठ वि.सं. २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा तत्कालीन अर्थुङ्गे गाविसको अध्यक्षमा निर्वाचित भई जनपक्षीय कामहरु गर्नुभएको थियो । एमाले म्याग्दीले आसन्न निर्वाचनमा उम्मेदवारका लागि म्याग्दीबाट श्रेष्ठसहित पाँच जनालाई सिफारिस गरेको थियो ।

आउँदो प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस हुनुभएका नेता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा पार्टीको तर्फबाट उम्मेदवारी दिन लागेको जानकारी गराउँदै सहयोग गर्न सबैलाई अपिल गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘आगामी फागुन २१ गते हुन गैरहेको निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दिँदैछु । यस बीचमा उम्मेदवारीको लागि टिकट उपलब्ध गराउने आदरणीय नेतागणलगायत सहयोग गर्ने सबै कमरेडहरु र शुभचिन्तकहरुमा आभारसहित धन्यवादज्ञापन गर्दछु । साथै आगामी निर्वाचनमा विजयी गराउनका लागि यहाँहरुको साथ र सहयोगको अपेक्षा पनि गर्दछु ।’