• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

कृष्णबहादुर कार्की

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार जिल्लाका पशु स्वास्थ्य प्राविधिकहरुलाई पशु चौपायाको नमुना सङ्कलन तथा प्रेषण सम्बन्धी विषयमा तालिम सम्पन्न भएको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागको आयोजना, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला पोखराको संयोजन र खाद्य तथा कृषि सङ्गठन (एफएओ) नेपालको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

तालिम भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय म्याग्दीको समन्वयमा भएको थियो । पशु स्वास्थ्य प्राविधिकहरुमार्फत कसरी पशु चौपायाको गुणस्तरीय नमुना सङ्कलन गर्ने र त्यसलाई सुरक्षित तरिकाले प्रयोगशालासम्म पु¥याउन सकिन्छ भन्ने उद्देश्यले पशु स्वास्थ्य प्राविधिकहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको थियो । बुधवार र बिहीबार दुई दिनसम्म चलेको तालिममा म्याग्दीको सरकारी तथा निजी क्षेत्रमा कार्यरत १५ जना पशु स्वास्थ्य प्राविधिकहरुले सहभागिता जनाएका थिए ।

तालिमको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला पोखरा कार्यालयका प्रमुख डाक्टर किरण पाण्डे, पशु चिकित्सक डा. सचिन रेग्मी, पशु प्राविधिकद्वय खिमलाल अधिकारी, राजन शाही, एफएओ नेपालका नेशनल फिल्ड सर्भिलेन्स डा. किरण भण्डारी र बेनी नगरपालिकाको पशु सेवा शाखाका सहायक पशु चिकित्सक प्रदीप गौतमले सहजीकरण गर्नुभएको थियो । तालिममा पशु चौपायाको गुणस्तरीय नमुना सङ्कलन, सङ्कलित नमुनालाई सुरक्षित तरिकाले प्रयोगशालासम्म प्रेषण गर्ने, फिल्डमा गर्न सकिने पशुजन्य रोगहरुको परीक्षण तथा उपचार, पशुपालक किसानहरुलाई सल्लाह र परामर्शलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

तालिमको समापन गर्दै प्रयोगशाला कार्यालय पोखराका प्रमुख डा. पाण्डेले तालिममा सिकेको ज्ञान र सिपलाई किसानको गोठमा पुगेर पशु चौपायाको गुणस्तरीय उपचार गर्नुपर्ने बताउनुभयो । डा. पाण्डेको अध्यक्षता र पशु चिकित्सक डा. रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय म्याग्दीका पशु स्वास्थ्य प्राविधिक खगेन्द्र विकले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा तालिमका सहभागी धवलागिरि गाउँपालिका म्याग्दीको पशु सेवा शाखाका पशु सेवा प्राविधिक चन्द्रकला दाहालले अनुभव सुनाउनुभएको थियो ।