• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

कृष्णबहादुर कार्की/पर्वत

पर्वत बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको शनिवार आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका कार्यवाहक अध्यक्ष सम्मरबहादुर थापाले संस्थागत प्रतिवेदन, सचिव हिराबहादुर बरुवालले प्रगति र सहसचिव कमला बानियाँ थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभाको उद्घाटन गर्दै खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखरा कास्कीका सिनियर डिभिजनल इन्जिनियर कुलप्रसाद पौडेलले नेपालमा ७० प्रतिशत खानेपानी उपभोक्ता संस्थामार्फत, २० प्रतिशत खानेपानी संस्थान र १० प्रतिशत पानी बोर्ड स्थापना गरेर नागरिकहरुलाई उपलब्ध गराइएको बताउनुभयो । उहाँले नेपालमा उपभोक्ता संस्थाहरुमार्फत उपलब्ध खानेपानी योजना प्रभावकारी रुपमा सञ्चालन भैरहेको बताउनुभयो ।


नेपालमा राष्ट्रिय तथ्याङ्क अनुसार २० प्रतिशत खानेपानी शुद्ध र स्वस्थ रहेको बताउँदै सिनियर डिभिजनल इन्जिनियर पौडेलले देशमा अहिले वितरण भैरहेको पिउने पानी जुन विधि र प्रणाली अनुसार भैरहेको छ, त्यो ९९ प्रतिशतभन्दा बढी शुद्ध रहेको तथ्याङ्कमा उल्लेख गरिएको बताउनुभयो । उहाँले स्थानीयस्तरमा हुने खानेपानीलगायत स–साना विकासे योजनाको समस्या समाधान गर्नका लागि सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले नागरिकको गुनासा, चाहना र आवश्यकता स्थानीय तहले पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।

जलजला गाउँपालिकाका उपाध्यक्ष दिपकप्रसाद आचार्यले पर्वत बेनी खानेपानी उपभोक्ता संस्थाको दीगो विकास तथा मर्मतसम्भारलगायत कामका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने बताउनुभयो । उहाँले आउँदा दिनहरुमा पनि पर्वत बेनी खानेपानी उपभोक्ता संस्थालाई थप व्यवस्थित, प्रभावकारी र सुदृढ बनाएर अगाडि बढाउनुपर्ने भन्दै यसका लागि सबै उपभोक्ताहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो । गाउँपालिकाबाट आवश्यक सहयोग गर्ने बताउँदै खानेपानीका संरचनाहरुको संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।

जलजला–३ का निवर्तमान वडा अध्यक्ष देवेन्द्रबहादुर भण्डारी (रवि) र पर्वत उद्योग वाणिज्य संघ जलजला शाखाका उपाध्यक्ष बाबुराम पौडेलले खानेपानीका उपभोक्ताहरुलाई सहुलियतदरमा विद्युतको मिटर उपलब्ध गराउनुपर्ने बताउनुभयो । अनावश्यक रुपमा खानेपानीको खर्च नगरी मितव्ययी तरिकाले पानीको प्रयोग गर्नुपर्ने उहाँहरुको भनाइ छ । पर्वत बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका संस्थापक अध्यक्ष लोकनाथ रेग्मीले जलजला गाउँपालिकाले खानेपानीको आपूर्ति, मर्मतसम्भारको कार्यहरुमा आर्थिक सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको अवसरमा उत्कृष्ट उपभोक्ताहरु दानबहादुर खत्री, पार्वती जिसी, अमृतबहादुर बरुवाल र बिजुली भण्डारीलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । पर्वत बेनी खानेपानी उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष सम्मरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष भगवती शर्माको स्वागत र सचिव हिराबहादुर बरुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपभोक्ताद्वय प्रेमबहादुर सुवेदी र जुना जिसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वि.सं. २०७० सालमा स्थापना भएको पर्वत बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था जलजला–३ पर्वत बेनीले आर्थिक वर्ष ०७६÷७७ मा बृहत खानेपानी योजना सञ्चालन गरी हाल ७ सय ६७ घरधुरीमा शुद्ध खानेपानीको आपूर्ति गर्दै आएको छ । सबै घरधुरीहरुमा ‘एक घर एक धारा’को जडान गरिएको छ ।