नेकपा एमालेका केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले आउँदो फागुन २१ गते हुने निर्वाचन सामान्य नभएको बताउनुभएको छ । एमाले म्याग्दीले आसन्न चुनावका लागि बुधवार बेनीमा आयोजना गरेको मूल निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गर्दै उहाँले निर्वाचन सामान्य नभई देश बचाउने र राष्ट्रियता जोगाउने अभियान भएको बताउनुभयो ।
‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने नारासहित नेकपा एमाले जिल्ला कमिटी म्याग्दीद्वारा आयोजित विस्तारित वैठकलाई निर्वाचन कार्यालय उद्घाटनपछि सम्बोधन गर्दै सचिव अधिकारीले आसन्न निर्वाचन देश र राष्ट्रियता जोगाउने तथा देशमा विध्वंश मच्चाउनेहरुको बीच प्रतिस्पर्धा हुने बताउनुभयो । उहाँले अहिलेको सरकार चुनाव गराउन बनेको भए पनि सरकारकै मन्त्रीहरु धमाधम राजिनामा दिएर चुनावमा आउनु यसको पछि ठूलो रहस्य रहेको बताउनुभयो ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका एमाले सचिव अधिकारीले वर्तमान सरकार संविधान र संसदभन्दा बाहिरबाट बनेको र प्रधानमन्त्री बन्न नमिल्ने मान्छे प्रधानमन्त्री बनेकाले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचन स्वच्छ र निष्पक्ष हुन्छ भन्नेमा आशङ्का रहेको टिप्पणी गर्नुभयो । उहाँले गत भदौ २३ र २४ गते जेनजी समूहको नाममा भएको आन्दोलनबाट बनेको सरकारमा सहभागी मन्त्रीहरु आसन्न निर्वाचन सम्पन्न गराउनुको सट्टा एकाएक राजिनामा दिएर निर्वाचन लड्न आएको बताउँदै आगामी निर्वाचन देश र राष्ट्रियता जोगाउने तथा संविधानको रक्षाका निम्ती रहेको बताउनुभएको छ ।

वैठकमा सम्बोधन गर्दै सचिव अधिकारीले भन्नुभयो, ‘यस पटकको चुनाव कुनकुन पात्रले जित्ने र हार्ने भन्ने विषयमा भैरहेको छैन । खासमा राष्ट्रियता जोगाउने कि जेलेन्सकी जन्माउने र युक्रेन बनाउने भन्ने बीचको हो । अन्तर्राष्ट्रिय शक्ति केन्द्र बलियो हुँदा देशको सिमाना पश्चिममा काँकडा र पूर्वमा टिष्टासम्म पु¥याउने वीरहरु अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापाहरु सेरिएको देशमा राष्ट्रवादी अडान राख्दा एमाले नेतृत्वमाथि चौतर्फी प्रहार भैरहेको छ ।’ उहाँले विगतमा जनताको विश्वास टिकाउन नसकेका त्रुटीहरुमा पार्टीको तर्फदेखि क्षमायाचना र आगामी दिनमा गल्ती नदोहो¥याउने प्रतिवद्धतासहित राष्ट्रिय स्वाभिमान तथा आर्थिक जागरणका लागि एमाले निर्वाचनमा होमिएको बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै नेकपा एमालेकी केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज थममाया थापाले आगामी फागुन २१ गतेको निर्वाचन एमालेको पक्षमा पार्ने गरी लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले वि.सं. २०४८ सालदेखि हालसम्म भएका निर्वाचनहरुमा एमालेको मत म्याग्दीमा एउटै दरमा प्राप्त भैरहेको बताउँदै अहिलेको निर्वाचन पनि एमालेले जित्नुपर्ने बताउनुभयो । नेकपा एमालेकी अर्की केन्द्रीय सदस्य नरदेवी पुनले एमाले सरकारमा हुँदा देश र जनताको पक्षमा गरेका राम्रा कामहरुको बारेमा बुझाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

एमालेका केन्द्रीय सदस्य एवं आसन्न निर्वाचनका उम्मेदवार हरिकृष्ण श्रेष्ठले निर्वाचनमा आफू केबल उम्मेदवारको प्रतिनिधि मात्रै भएको बताउँदै पार्टी केन्द्रीय घोषणापत्र नै निर्वाचनको अभियान हुने बताउनुभयो । एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले आसन्न निर्वाचनमा उठेका राजनीतिक दलका उम्मेदवारहरुसँग स्वतन्त्र उम्मेदवारको तुलना हुन नसक्ने भन्दै निर्वाचन एमालेले जित्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, उपाध्यक्ष प्रमोद श्रेष्ठको स्वागत र सचिव थमसरा पुनको सञ्चालनमा सम्पन्न विस्तारिक वैठकले आसन्न निर्वाचनलक्षित विभिन्न रणनीति र योजनाहरु बनाएको छ । विस्तारित वैठकमा एमालेका निवर्तमान केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश कमिटी सदस्य सुरत केसी, खरमाया बिटालुलगायत प्रदेश तथा जिल्लाका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।



