• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा महिलाहरुलाई भाषणकला र उद्घोषण सिप सम्बन्धी विषयक तालिम सुरु भएको छ । गणेशथान आमा समूह मिलनचोक पर्वतको आयोजना र टेवा टिम काठमाडौँको आर्थिक सहयोगमा शनिवारदेखि महिलालक्षित तालिम सञ्चालन गरिएको हो ।

महिलाहरुलाई माईक समातेर बोल्न र भाषण गर्न सिकाउने तथा औपचारिक कार्यक्रमको उद्घोषणसहित सञ्चालन गर्नका लागि दक्ष बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको जनाइएको छ । तालिमको उद्घाटन गर्दै जलजला ७ नम्बर वडाका वडा अध्यक्ष टुङ्गनाथ शर्माले सक्रियतापूर्वक तालिम लिएर आफ्नो व्यक्तित्व र नेतृत्वको विकास गर्न सहभागी महिलाहरुलाई सुझाव दिनुभयो ।

तालिमका प्रशिक्षक एवं पत्रकार सुस्मा पौडेलले तालिमको अवधिमा भाषणकला र कार्यक्रम उद्घोषणबारे विभिन्न विषयहरुमा सहजीकरण गरिने हुँदा तालिमबाट सहभागी महिला दिदीबहिनीहरु परिवर्तन भएर जानुपर्नेमा जोड दिनुभयो । गणेशथान आमा समूहका अध्यक्ष सुनिता बरुवाल जिसीले महिला दिदीबहिनीहरुको क्षमता विकास गर्नका लागि तालिम आयोजना गरिएको बताउनुभयो । समूहका सचिव एवं सामाजिक अभियन्ता जमुना आचार्यले तीन दिनको तालिमको अवधि थोरै भए पनि पर्याप्त समय दिएर तालिम लिन सहभागीलाई आग्रह गर्नुभयो ।

आमा समूहका अध्यक्ष जिसीको अध्यक्षता र सचिव आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा सदस्य अम्बिका पौडेलले स्वागत गर्नुभएको थियो । तालिम उद्घाटनसत्रमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव प्रताप बानियाँको विशेष उपस्थिति रहेको थियो भने सोमबारसम्म चल्ने तालिममा गणेशथान आमा समूहमा आबद्ध महिलाहरुले सहभागिता जनाएका छन् ।