• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

म्याग्दीको बेनी नगरपालिका ९ तोरीपानीमा सञ्चालित गलेश्वर माध्यमिक विद्यालयको ४५औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम शनिवार सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रम अन्तर्गत आयोजित जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालयबीच भएको छात्र भलिबलको उपाधि मुक्तिधाम मावि राखुभगवतीले जितेको छ ।

कुल १३ वटा विद्यालयहरुले सहभागिता जनाएको भलिबल प्रतियोगिताको फाइनलमा आयोजक विद्यालय गलेश्वर माविलाई लगातार तीन सेटले पराजित गर्दै मुक्तिधामले उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा फाइनल खेलको पहिलो सेट २५–१५, दोस्रो सेट पनि २५–१५ र तेस्रो तथा अन्तिम सेट २१ का विरुद्ध २५ अङ्क ल्याएर मुक्तिधाम मावि विजेता बनेको आयोजकले जनाएको छ ।

यसैगरी मैत्रीपूर्ण शिक्षक भलिबलमा कुल ८ विद्यालय सहभागी भएकोमा आयोजक विद्यालय गलेश्वर मावि तोरीपानीले १ का विरुद्ध ३ सेटले शिशुकल्याण मावि अर्मनलाई पराजित गर्दै उपाधि जितेको छ । यस प्रतियोगितामा पहिलो सेट गलेश्वर माविले २१ का विरुद्ध २५ अङ्क ल्याएर जितेको थियो भने दोस्रो सेट शिशुकल्याणले ११ का विरुद्ध २५ अङ्कले जिेतको थियो । त्यसपछि क्रमशः तेस्रो र चौथो सेट गलेश्वर माविले २६–२८ र १६–२५ ले मैत्रीपूर्ण भलिबलको उपाधि जितेर विजेता बनेको थियो ।

भलिबल प्रतियोगिताको छात्रतर्फ विजेता र उपविजेतालाई क्रमशः नगद ५५ हजार र ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । त्यस्तै मैत्रीपूर्ण शिक्षक भलिबलमा विजेता र उपविजेतालाई क्रमशः नगद ४० हजार, ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । भलिबल प्रतियोगिताको छात्रतर्फ मुक्तिधाम माविका निरोज परियार तथा शिक्षक भलिबलमा गलेश्वर माविका दिपक आचार्य उत्कृष्ट खेलाडी घोषित भई पुरस्कार जितेका छन् । विजेता र उपविजेतालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमुना श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष सागर बानियाँ, पूर्व विद्यार्थी एवं वार्षिकोत्सव समारोहको पुरस्कार प्रायोजनका संयोजक गोपाल बानियाँ, पूर्व विद्यार्थी तथा प्रयोजकद्वय डम्बरबहादुर केसी, वकिल शेरचन र विद्यालयका प्रधानाध्यापक गणेशबहादुर बानियाँले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व विद्यार्थी एवं पुरस्कार प्रायोजक बानियाँले आफूहरु २०४० सालमा गलेश्वर माविबाट पहिलोपटक एसएलसीमा सहभागी व्याजका सँगै अध्ययनरत साथीहरुको पहलमा विद्यालयको ४५औं वार्षिकोत्सव कार्यक्रमका लागि एकलाख ५० हजार रुपैयाँ आर्थिक रकम सड्ढलन गरेर सहयोग गरिएको बताउनुभयो । उहाँले आगामी वर्ष पूर्व विद्यार्थीहरुको पहलमा गलेश्वर माविमा अक्षयकोष स्थापना गरी त्यसबाट विद्यालयमा भलिबलसहितका खेलकुदजन्य विविध गतिविधिहरु सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालयका अर्का पूर्व विद्यार्थी एवं वार्षिकोत्सव कार्यक्रमको पुरस्कार प्रायोजक केसीले गलेश्वर माविलाई आउँदा दिनहरुमा पनि पूर्व विद्यार्थीहरुको साथ र सहयोग सधैँ रहने बताउनुभयो । कार्यक्रममा विद्यालयको तर्फदेखि वार्षिकोत्सव कार्यक्रमलाई आर्थिक सहयोग गर्नेहरु पूर्व विद्यार्थी सबैलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको थियो । विद्यालयको आयोजनामा गएको बुधवारदेखि सुरु भएको ४५औं वार्षिकोत्सव तथा अभिभावक दिवस र भलिबल प्रतियोगितासहितका कार्यक्रमहरु शनिवार औपचारिक समापन गरिएको छ ।

विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष सागर बानियाँको अध्यक्षता र सहायक प्रधानाध्यापक तेजबहादुर राईको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । वि.सं. २००९ सालमा आदर्श प्राथमिक पाठशालाको रुपमा स्थापना भई २०३७ सालमा माविको स्वीकृत प्राप्त गलेश्वर माविले २०४० सालमा पहिलोपटक तत्कालीन प्रवेशिका परीक्षा एसएलसीमा विद्यार्थीहरुलाई सहभागी गराएको थियो । २०६६ सालमा साधारण धारतर्फ उच्च मावि सञ्चालन गरेको यस विद्यालयले २०७० सालमा प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङको कक्षा सुरु गरेको थियो ।