नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनावमा कसैसँग पनि गठबन्धन नहुने बताउनुभएको छ । नेकपा म्याग्दीले बुधवार सदरमुकाम बेनीमा आयोजना गरेको निर्वाचनलक्षित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा आफ्नो सामथ्र्यका साथ पहिलो शक्ति बन्ने बताउनुभएको हो ।
नेपाली कांग्रेस, नेकपा एमालेका नेताहरूसँग चुनावलक्षित कुराकानी हुने गरेको भए पनि तालमेलको प्रस्तावलाई चासो नदिएको संयोजक प्रचण्डले बताउनुभयो । तालमेल नगरी सबैभन्दा बढी सिट जित्ने दावी गर्दै उहाँले भन्नुभयो, ‘विचार र राजनीतिक मुद्दाको आधारमा चुनावमा होमिएकाले देशभर माहोल हाम्रो पक्षमा छ । राजनीतिक दलमा नाम र चुनाव चिह्नले नेपाली कम्युनिष्ट पार्टी मात्रै देशको नयाँ पार्टी हो ।‘

सामाजिक सञ्जालमा नयाँ भनेर स्टन्ड गर्दै जनतामा भ्रम छर्ने गरिएको बताउँदै गणतन्त्र, संघीयता, समावेशी र समानुपातिकको मुद्दा बोक्ने मात्रै नयाँ हुने संयोजक प्रचण्डले बताउनुभयो । जेनजी आन्दोलपछि संघीयता र गणतन्त्रको रक्षाका लागि आफ्नो नेतृत्वमा देशलाई दुर्घटना हुनबाट जोगाएको जिकिर गर्दै उहाँले भ्रष्ट्राचारको पक्षधरसँग चुनावमा गठबन्धन नगरी अगाडि बढेको अवस्थामा जेनजी पुस्ताबाट समेत सहयोग मिलेको बताउनुभयो । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन कुनै पनि हालतमा नसर्ने र एकैपटक देशभर सञ्चालन हुने उहाँले बताउनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका संयोजक प्रचण्डले घरघरमा पुगेर पार्टीले सार्वजनिक गरेको प्रतिबद्धतापत्रसहित सरकारको नेतृत्वमा हुँदा गरेका राम्रा कामहरुको मसिनो ढङ्गले मतदातालाई बुझाउन पार्टीका कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले पश्चिम म्याग्दी हुँदै रुकुम जोड्ने बेनी–दरबाङ–जलजला सडकलाई मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्ग बनाउने, सिङ्गा तातोपानी, पौलस्त्य पुलहाश्रम क्षेत्रसहित जिल्लाका आवश्यकताहरु पुरा गर्न प्रतिनिधि सभा सदस्यमा अजूर्न थापालाई विजयी गराउन समेत मतदातालाई अपिल गर्नुभयो । आफ्नो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस, राष्ट्रि«य स्वतन्त्र पार्टी र नेकपा एमाले हुने उहाँले बताउनुभयो ।

देशभर नेकपाको पक्षमा चुनावी माहोल राम्रो बन्दै गएकाले अब केही हप्ता मेहनत गरेको खण्डमा एक नम्बरको पार्टी बनेर सरकारको नेतृत्व गर्ने अवस्थामा पुग्ने संयोजक प्रचण्डको भनाइ छ । निर्वाचनमा नेकपालाई कमजोर बनाउन डिजिटल प्रविधिको प्रयोग गरी मिथ्या सूचनाहरु प्रचार भैरहेको बताउँदै उहाँले नेता कार्यकर्तालाई खण्डनसहित सत्य र तथ्य सूचनालाई मात्र विश्वास गर्नका लागि अनुरोध गर्नुभएको छ । पार्टी प्रशिक्षणमा नेकपाका केन्द्रीय नेताहरू पम्पा भूषाल, दिननाथ शर्मासहित अन्य नेताहरू म्याग्दी आएका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीमा पार्टीको अवस्था, तयारी तथा थप योजनाको बारेमा केन्द्रीय सदस्य गोविन्द पौडेलले जानकारी गराउनुभएको थियो ।


