आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि म्याग्दीबाट नेपाली कांग्रेसको रुख चिह्नबाट उम्मेदवार बन्नुभएका कर्णबहादुर भण्डारी (केबि) म्याग्देली जनताको मन मनमा बस्न सफल, सहयोगी र निष्कलङ्क व्यक्ति हुनुहुन्छ । गाउँको गोठमा जन्मिएर आफ्नै वुद्धि र वर्गतले जापान र हङकङमा समेत जागिर गरी स्वदेश फिर्ता भएपछि राजधानी काठमाण्डौमा प्राविधिको अनसन्धान र खोजीमा लागेका धिरोदात्त गुणले युक्त भण्डारी पछिल्लो एक दशकयता जिल्लामै बसेर जनताको सुखदुःखमा काँध थाप्दै आउनुभएको छ ।
कानुन, प्रशासन र प्रविधिको विषयमा जानकार भण्डारी २०४३ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर नेपाली कांग्रेसको अभिभावकत्वलाई आत्मसाथ गर्दै रोजगारीका लागि जापान र हङकङ पुग्नुभयो । हङकङमा बस्नका लागि आफूले प्राप्त गरेको आईडीलाई समेत त्यागेर २०५१ सालमा नेपाल फर्किनुभएका भण्डारीले आर्थिक स्थिति बलियो बनाउन व्यवसाय र समाजसेवाका लागि राजनीतिमा समेत आबद्ध हुनुभयो । कानुन विषयमा स्नातक गर्नुभएका भण्डारी २०६८ सालदेखि नेपाली कांग्रेसमा सक्रिय रुपमा लागेर म्याग्दीको विकट गाउँ वस्तीहरुलाई विकासको उज्यालोले उजिल्याउने प्रयासमा अनवरत संघर्ष गरिरहनुभएको छ ।
२०२५ सालमा रघुगंगा गाउँपालिकाको वडा नं २ मा पर्ने भगवतीको रुईसे भेडीगोठमा जन्मिनुभएका भण्डारीले ग्रामीण क्षेत्रका गरिब र अवसरबाट वञ्चित भएका व्यक्तिहरुको अवस्थादेखि लिएर देश, विदेशका सहरमा सम्पन्न जीवनशैली बिताइरहेका व्यक्तिहरुको व्यवस्थालाई पनि नजिकबाट बुझ्नुभएको छ । २०६६ सालमा नेपाल नागरिक उड्यन प्राधिकरण बोर्डको सदस्यमा मनोनयन भएर काम गर्नुभएका भण्डारी अनुभव र संंघर्षले खारिएको पाको व्यक्ति हुनुहुन्छ । भण्डारीले २०६३ सालदेखि नेपालका चर्चित वैज्ञानिकद्वय राम र लक्ष्मण रिमाललाई साथमा लिई भोटिङ मेसिनदेखि घरायसी सुरक्षाको उपकरणहरु बनाएर नेपालीहरुलाई ठूलो गुन लगाउनुभएको छ । उहाँले नेपालमा नै पहिलोपटक विकास गरेको अनलाइन भोटिङ मेसिन अहिले नेपालका विभिन्न निर्वाचनहरुमा प्रयोग भैरहेका छन् ।
बुबा शान्ताबहादुर भण्डारी र आमा नैनकली भण्डारीको कोखबाट जन्मनुभएका भण्डारी केबि भण्डारीको नामले चिनिनुहुन्छ । बुबा क्षत्री र आमा मगर समुदायकी चेली भएकाले भण्डारीलाई यहाँका मगर समुदायले केबि भान्जा भनेर बोलाउने गर्दछन् । केबि भण्डारी २०७९ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा (खम्वीर)लाई जिताउन अहोरात्र खटेर म्याग्देली जनहरुको मन जित्न सफल हुनुभएको थियो ।
२०७० सालको दोस्रो संविधानसभाको निर्वाचन र २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा केन्द्र र प्रदेशसँग समन्वय गरेर निर्वाह गर्नुभएको भूमिका म्याग्देली जनताका लागि अविष्मरणीय छ । म्याग्दीको विकास र समृद्धिलाई सुशासनका लागि युवा पुस्तालाई साथमा लिई जिल्लालाई विकासले हराभरा बनाउने र म्याग्देली जनताको मुहारलाई विकासको उपहार दिई हँसिलो बनाउने उद्देश्यले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांंग्रेसबाट उम्मेदवार बन्नुभएको छ । व्यक्तिगत सुखसयल, इच्छा र चाहनाहरुलाई म्याग्देली जनताको विकास तथा समृद्धिको सपनासँग जोडेर म्याग्दीकै माटोमा विकासको मूल फूटाएर विकट र निकटका जनतालाई सँगसँगै हिँडाउने महान उद्देश्य लिनुभएका हँसिला र फरासिला स्वभावका भण्डारीले रुख चिह्नमा मतदान गरी आफूलाई विजयी बनाउन जिल्लावासीहरुलाई हार्दिक अनुरोध गर्नुभएको छ ।
विकासप्रेमी नेता भण्डारीले गरेका कामको बारेमा म्याग्देली मतदाताहरु प्रष्ट छन् । अत्यन्तै दयालु र सहयोगी भावनाका भण्डारीले गाउँघरमा पुगेर जनताको समस्या र आवश्यकतालाई पूरा गर्न अहिलेसम्म खेलेको भूमिकाकै कारण यसपटक सहरदेखि ग्रामीण क्षेत्रसम्मका मतदाता उहाँलाई मतदान गर्न उत्साहित छन् । जनताको सेवक बन्ने भण्डारीको प्रयास र सक्रियतालाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा रुख चिह्नमा मतदान गरी थप पुष्टी गर्न म्याग्देली जनता आतुर देखिन्छन् ।


