नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको निर्वाचन मूल प्रचारप्रसार समितिको आयोजनामा सञ्चालित निर्वाचनलक्षित कार्यक्रम तीव्र रुपमा अगाडि बढेको छ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि सोमबार बेनी नरपालिका ९ घतानबाट कांग्रेस म्याग्दीले निर्वाचनको औपचारिक रुपमा प्रचारप्रसार अभियान सुरु गरेको थियो ।
आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर भण्डारी (केबि)ले मतदाता भेटघाट र निर्वाचन प्रचारप्रसारको अभियानलाई तीव्र गतिमा अगाडि बढाउनुभएको छ । उम्मेदवार भण्डारीले मङ्गलवार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारसहित विभिन्न टोल र वस्तीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस पार्टी र आफूलाई भोट माग्नुभयो ।

कार्यक्रममा बोल्दै उम्मेदवार भण्डारीले अन्नपूर्ण क्षेत्रमा पर्यटनको विकास गरी आयआर्जनसँगै रोजगारी सिर्जना गर्ने खालका योजना र वस्तीवस्तीमा पुग्ने सडकको स्तरोन्नति गर्ने कार्य आफ्नो पहिलो प्राथमिकतामा रहेको सुनाउनुभयो । वर्तमान सन्दर्भमा नेपाली कांग्रेस नयाँ नेतृत्वसहित देशव्यापी रुपमा निर्वाचनमा होमिएको बताउँदै म्याग्दीमा पनि कांग्रेसले सक्षम र योग्य व्यक्तिलाई उम्मेदवार बनाएको बताउँदै उहाँले फागुन २१ गतेको निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा भोट दिएर आफू र पार्टीलाई जिताउन मतदातालाई आग्रह गर्नुभएको छ ।

उम्मेदवार भण्डारीले नेपाली कांग्रेस अब पुरानो ढर्राबाट परिवर्तित र रुपान्तरित भएर नयाँ स्वरुप तथा नेतृत्वसहित आएकाले जनताले ढुक्क भएर कांग्रेसलाई विश्वास गरी मत दिन मतदाताहरुसँग अनुरोध गर्नुभएको थियो । उहाँले बोलेर मात्र होइन आफूले काम गरेर समेत देखाउने प्रतिबद्धता व्यक्त गर्दै नयाँ दल भनिरहँदा त्यसमा पनि पुरानै अनुहार आएको बन्दै कांग्रेसले अहिले केन्द्रदेखि जिल्ला तहसम्म पुस्तातरण गरेको बताउनुभयो । कार्यक्रममा उम्मेदवार भण्डारीले जनताको आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकता दिँदै सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, बेरोजगारी र कृषि क्षेत्रका समस्याहरूको बारेमा स्थानीयवासीको गुनासोलाई दीर्घकालीन समाधान गर्नका लागि स्पष्ट योजना बनाएको जानकारी दिनुभयो । आफू कानुनको विद्यार्थी समेत भएकाले सोही अनुसारका नीति, कानुन र कार्यक्रमहरु बनाएर जिल्लामा रहेका खानीहरु सञ्चालन गर्नेमा समेत आफू प्रस्ट रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा अघिल्लो सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री समेत रहनुभएका कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले आफू छोटो समय मन्त्री हुन पाउँदा पनि समग्र जिल्लाको विकासमा योजनाहरु हालेको बताउनुभयो । उहाँले ती योजनाहरु सम्पन्न गर्न र जिल्लाको विकासका लागि म्याग्दी कांग्रेसले ऊर्जाशिल यूवा नेतालाई उम्मेदवार बनाएकाले सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
सभापति गर्बुजाले आफ्नो कार्यकालमा जिल्लामा सुरु भएका योजनाहरुलाई पूर्णता दिन अब म्याग्देली जनताले नेपाली कांग्रेस र कांग्रेसका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाको सभापति कृष्णप्रसाद बरुवाल, जिल्ला कार्यसमिति कोषाध्यक्ष अमृतमान शेरचन, निर्वाचन क्षेत्र (क)का सभापति ओम छन्त्याललगायत नेता, कार्यकर्ताहरुले सहभागिता जनाएका थिए ।


