• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

नेपाली कांगेस निर्वाचन मूल परिचालन समिति म्याग्दीको आयोजनामा बिहीबार धवलागिरि गाउँपालिकाको विभिन्न वडा र वस्तीमा निर्वाचनलक्षित प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कर्णबहादुर भण्डारी (केबि) र कांग्रेस म्याग्दीका सभापति एवं पूर्व राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बीर)ले सम्बोधन गर्नुभएको थियो ।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका भण्डारीले धवलागिरि २ लुलाङ र लमसुङमा आयोजित चुनावी सभालाई सम्वोधन गर्नुभयो । उम्मेदवार भण्डारीले हिमाली जिल्लाको मान्यता पाएको म्याग्दीले सेवा सुविधा प्राप्त गर्न नसक्दा उपल्लो भेगमा जनतालाई समस्या भएको बताउँदै जनताका समस्याहरु समाधान गर्ने ल्याकत र सामथ्र्य आफूसँग भएको दावी गर्नुभयो ।

‘म सेवा गर्नकै लागि जन्मिएको हुँ, म कानुनको विद्यार्थी भएको हुनाले मलाई योजना कसरी बनाइन्छ, बजेट कसरी बाँढफाँड गरिन्छ र धेरैभन्दा धेरै बजेट कसरी जिल्लामा ल्याउन सकिन्छ भन्ने कुरा थाहा छ । म म्याग्देली जनताको शिर ठाडो हुने गरी नीति निर्माण तहमा पुगेर काम गर्न चाहन्छु । त्यसैले जिल्लाको विकासका लागि पनि मलाई भोट दिनुहोस्’ उम्मेदवार भण्डारीले भन्नुभयो ।

भण्डारीले प्राथमिकता र आवश्यकताको आधारमा विकास, जातीय समनता, वर्गीय विभेदको अन्त्य, रोजगारीको सिर्जना, पर्यटन क्षेत्रमा पूर्वाधार निर्माण र विकास, शिक्षा, स्वास्थ्यमा सुधार तथा सर्वसुलभ बनाउने योजना, हिमाली जिल्लामा कार्यान्वयन गरिनुपर्ने नीति र जनतालाई सुविधा, सानेपानी, सिंचाइ, उत्पादित वस्तुको बजारिकरण, कृषि र पशुपालनलाई उद्यमको रुपमा विकास गर्ने, जडिबुटीको सङ्कलन, प्रशोधन एवं बिक्री वितरणका लागि सहज नीतिको कार्यान्वयन, खानी उत्खनन् लगायतका एजेण्डाहरु आफ्नो क्रमिक रुपमा प्राथमिकताका विषयहरु रहेका बताउनुभयो ।

चुनावी सभामा कांग्रेस म्याग्दीका सभापति एवं पूर्व राज्यमन्त्री गर्बुजाले आफ्नो छोटो राज्यमन्त्री कालमा पनि विगतको भन्दा धेरै बजेट म्याग्दीमा ल्याएको बताउँदै त्यसको जस लिन हानथाप गर्न नचाहेको उल्लेख गर्नुभयो । पूर्व राज्यमन्त्री गर्बुजाले आफ्नो छोटो कार्यकालमै म्याग्दीमा अर्ब बढीको बजेट भित्रिएको र त्यसको सफल कार्यान्वयका लागि पार्टीका उम्मेद्वार केबि भण्डारीलाई जिताउन अपिल गर्नुभयो ।

केबी भण्डारी सांसद बन्न योग्य रहेको उल्लेख गर्दै देशमा राजनीतिक स्थायित्व, सुशासन, आफ्नो कार्यकालमा अपुरा रहेका योजनाहरु पुरा गर्न तथा जिल्लाको थप विकासका लागि कांग्रेस पार्टी र उम्मेद्वार भण्डारीलाई जिताउन आवश्यक रहेको सभापति गर्बुजाले बताउनुभयो । धवलागिरि गाउँपालिकाका २, ३ र ४ नम्बर वडामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम पनि गरिएको थियो । पार्टीका नेता तथा कार्यकताहरु सहभागी उक्त कार्यक्रममा मतदाताहरुले सहभागिता जनाएका थिए ।

नेपाली कांग्रेसको बेनी र मंगलामा चुनावी कार्यक्रम

यसैबीच नेपाली कांग्रेस म्याग्दीले यही २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित चुनावी सभा र घरदैलो कार्यक्रम बुधवार मंगला गाउँपालिकाको वडानम्बर १, २, ५ र बेनी नगरपालिका ४ नम्बर वडाको विभिन्न ठाउँमा सम्पन्न गरेको छ ।

तुसारेपानीमा आयोजित चुनावी सभामा कांग्रेस म्याग्दीका सभापति एवं निवर्तमान राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’, प्रतिनिधि सभा सदस्यका उम्मेदवार कर्णबहादुर भण्डारी (केबि), राष्ट्रिय पञ्चायत सदस्य नरबहादुर पुन, यूवा अनुसन्धानकर्ता लक्ष्मण रिमाल, वडा इकाई सभापति रामबहादुर खत्रीले बोल्नुभएको थियो । निवर्तमान राज्यमन्त्री गर्बुजाले आफ्नो छोटो कार्यकालमै म्याग्दीमा एक अर्बभन्दा बढी बजेट भित्रिएको बताउनुभयो ।

आफ्नो पहलमा जिल्ला भित्रिएको बजेटको पूण रुपमा सफल कार्यान्वयन गर्नका लागि पार्टीका उम्मेद्वार केबि भण्डारीलाई जिताउन मतदाताहरुलाई अपिल गर्नुभएको थियो । उहाँले केबि भण्डारी सांसद बन्न योग्य रहेको उल्लेख गर्दै देशमा राजनीतिक स्थायित्व, सुशासन, आफ्नो कार्यकालमा अपुरा रहेका योजनाहरु पुरा गर्न तथा जिल्लाको थप विकास गर्नको लागि कांग्रेस पार्टी र उम्मेद्वार भण्डारीलाई जिताउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

सोही क्रममा उम्मेदवार भण्डारीले जिल्लाको समग्र विकास र म्याग्दीवासीको सेवामा आफू लामो समयदेखि निरन्तर रुपमा खट्दै आएकाले प्रतिनिधि सभा सदस्यमा आफू र कांग्रेस पार्टीलाई विजयी बनाउन मतदाताहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले म्याग्दीलाई आर्थिक रुपमा समृद्ध बनाउन जलविद्युत, कृषि, पर्यटन, जडिबुटी, खानी, तातोपानीका कुण्डलगायत उत्पादनमूलक क्षेत्रमा पुर्वाधारको विकास निर्माणलाई थप व्यवस्थित बनाउँदै लगानी भिœयाएर रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो ।

कांग्रेसको पहलमा म्याग्दीमा भित्रिएका योजनाहरुको कार्यान्वयन तथा खानीहरुको उत्खननमा नीतिगत समस्याको कारणबाट म्याग्दीले लाभ लिन नसकेको उल्लेख गर्दै आफूले जितेर गएपछि नीतिगत समस्या समाधानका लागि पहल गर्ने उम्मेदवार भण्डारीको भनाइ छ । सांसदको काम विधेयक बनाउने मात्र नभई बजेट ल्याएर समग्र जिल्लाको विकासमा लगाउने उहाँले बताउनुभयो ।