• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

सामुदायिक वन क्षेत्रमा लाग्ने गरेको डढेलोको जोखिम कम गर्नका लागि डिभिजन वन कार्यालय म्याग्दीले वन डढेलो व्यवस्थापन सचेतना सप्ताह सुरु गरेको छ । चैत्र १ देखि ७ गतेसम्म एक हप्तासम्म सञ्चालन गरिने ‘वन डढेलो सचेतना सप्ताह’मा डढेलोको हिसाबले अति संवेदनशील समुदायस्तरमा विविध कार्यक्रमहरु गर्न लागिएको हो ।

हरेक वर्ष चैत पहिलो हप्तालाई सरकारले वन डढेलो सचेतना सप्ताहको रुपमा मनाउने गर्दछ । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा म्याग्दीका स्थानीय तह एवं वडास्तरमा समेत आगलागी नियन्त्रण गर्नका लागि आवश्यक पर्ने उपकरण र डढेलो नियन्त्रण सम्बन्धी ठोस कार्ययोजना बनाएर डढेलो नियन्त्रणमा सक्रिय हुनुपर्नेमा जोड दिइएको छ ।

डढेलो नियन्त्रण गर्न समन्वय र सहजीकरण गर्न स्थानीय तहहरूले आवश्यक पहलको बारेमा समेत समन्वयात्मक वैठकमा जिल्लाको समय अनुसार हुने विभिन्न विपदका घटनाहरूमा गम्भीरता नदेखाउँदा अघिल्लो वर्ष आगलागीका घटनाहरु धेरै भएकाले सामूहिक प्रयासमा डढेलो नियन्त्रण गर्न सकिने म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताउनुभयो । वैठकमा डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपायहरु अवलम्बन गर्दै डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न डढेलो सचेतना सप्ताह कार्यक्रमबाहेक पनि आफ्नो क्षेत्रमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्लाका ६ वटै स्थानीय तहमा रहेका डिभिजन वन कार्यालय अन्तर्गतका सामुदायिक वन, स्थानीय तहमार्फत विभिन्न संघसंस्थामार्फत वन उपभोक्ता सचेतीकरण, सर्वसाधारणमा सूचना प्रवाह, जोखिमयुक्त क्षेत्र सरसफाइ, विद्यालय शिक्षा, समुदायमा डढेलो नियन्त्रणका लागि समूह गठन र परिचालनका साथै जोखिम भएका स्थानमा अग्नीरेखा बनाइनेछ । वैठकमा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, प्रवक्ता रमेशकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुखसहित सरोकारवाला निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

म्याग्दीमा प्राकृतिकभन्दा मानवीय कारणले डढेलो लाग्ने गरेकाले समुदायस्तरमा सक्रियता र सचेतना कार्यक्रम नै न्यूनीकरणका लागि मुख्य आधार हुने बताइएको थियो । ६५ प्रतिशत डढेलो चैत र वैशाखको मध्यतिर लाग्ने गरेको छ । पछिल्ला दिनमा डढेलोका घटनाहरु वृद्धि भई मानवीय क्षतिसँगै वनस्पति, जीवजन्तु र जैविक विविधताको नाश हुँदै गएको छ ।

जसले गर्दा वायु प्रदूषण समेत बढ्दै गएकाले गाउँ गाउँमा सचेतना सामग्री वितरण, माईकिङ, रेडियोलगायत सञ्चारमाध्यमहरुबाट सूचना तथा सन्देशमूलक सामग्रीहरु प्रसारण तथा प्रकाशन, फायरलाइन रेखा बनाउने, डेमो गर्ने, पातपतिङ्गरहरु हटाउने र जलाउने लगायतका कार्य गर्नुपर्ने डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । डढेलो जोखिमको दृष्टिकोणले नेपालको ७७ वटै जिल्लामध्ये म्याग्दी ३०औँ स्थानमा रहेको छ । पछिल्लो समय सामुदायिक वन क्षेत्र तथा खरबारी र पाखोमा आगलागी तथा डढेलोका घटनाहरु बढ्दै गैरहेका छन् । लामो समयसम्म खडेरी पर्नु, पानीका मुहानहरु सुक्नु, समयमा वर्षा नहुनु र गर्मी बढ्दै गैरहेकाले डढेलो बढेको छ ।