• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

महिला तथा बालबालिका विरुद्ध हुने बलात्कारजन्य अपराध तथा हालै भएको बलात्कारपछि हत्याको घटनामा संलग्न दोषीलाई कडा कार्वाहीको माग गर्दै महिला सम्बद्ध समूहले म्याग्दी सदरमुकाम बेनीमा आइतबार विरोध प्रदर्शन गरेका छन् । गएको फागुन २३ गते सुर्खेतकी ईनिशा विकको बलात्कारपछि हत्या भएको विरोधमा महिला सम्बद्ध संस्थाहरुले विरोध जुलुससहित ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

गैरसरकारी संस्था मिलन म्याग्दीको अगुवाइमा विभिन्न २० वटा संघसंस्थाहरुले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको जनाएका छन् । सुर्खेतमा बालिकाको बलात्कारपछि हत्या र २६ फागुनमा पनि आफ्नै नाता पर्ने व्यक्तिबाट १२ वर्षिया बालिका बलात्कृत भएको घटनाका दोषीलाई तत्काल कडा कार्वाहीको माग गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइएको मिलन म्याग्दीका निवर्तमान अध्यक्ष दिलमाया बिटालुले जानकारी दिनुभयो ।

यौनजन्य हिंसा सभ्य समाजको लागि अत्यन्त लज्जास्पद र अस्वीकार्य अपराध भएकाले यस्तो घटनाका दोषीलाई हदैसम्मको कार्वाही गर्नुपर्ने महिला अधिकारकर्मीहरुले माग गरेका छन् ।  किशोरी तथा महिलामाथि हुने यस्ता जघन्य हिंसाका घटनाहरु निरन्तर रुपमा दोहोरिनु राज्य संयन्त्रको कमजोर कार्यान्वयन, दण्डहिनताको प्रश्रय र पीडितमैत्री न्याय प्राणालीको अभावले गर्दा हुने भएकाले यस विषयमा गृह मन्त्रालयले गम्भीर भएर अगाडि बढ्नुपर्ने महिलाहरुले बताएका छन् ।

म्याग्दी र पर्वतको जलजला गाउँपालिकामा क्रियाशील विभिन्न २० वटा महिलाहरु आबद्ध संघसंस्थाहरुको सहभागिता रहेको विरोध प्रदर्शन मिलन म्याग्दीको कार्यालयबाट सुरु भएर जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै महिला अधिकारका लागि राष्ट्रिय अभियान नेपाल म्याग्दीका सल्लाहकार जमुना आचार्यले महिला तथा बालिकामाथि निरन्तर रुपमा बलात्कार, हत्या, लुटपाट र यौनजन्य घटनाहरु बढिरहेकाले राज्यले नियन्त्रण गर्नुपर्ने बताउनुभयो । उहाँले दोषीमाथि हदैसम्मको कडा कार्वाही र पीडितले उचित न्याय पाउनुपर्ने बताउँदै यदि त्यस्तो नभएमा आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो ।

ध्यानाकर्षणपत्र बुझ्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले महिलाहरुले बुझाएको ध्यानाकर्षणपत्र तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले राज्यले निर्माण गरेका कानुनहरु कार्यान्वयन भैरहेको र हुने भएकाले दोषी कानुनी दायरामा आउने तथा कार्वाही हुने र पीडितले न्याय पाउने सन्दर्भमा शङ्का नगर्न आग्रह गर्नुभयो । जुन स्थानमा घटना भएको छ त्यही अनुसन्धान र न्याय निरुपणको काम हुनेमा ढुक्क हुन उहाँले आग्रह समेत गर्नुभएको थियो ।