म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित मनाएको छ । गएको शुक्रवार शिक्षामार्ग व्लक र आइतबार महारानीथान व्लकमा विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई सम्मान तथा २०५७ सालदेखि हालसम्म एसइईमा उत्कृष्ट नतिजासहित जिल्ला प्रथम हुन सफल भूतपूर्व विद्यार्थीहरुको फोटो प्रदर्शनीलगायत विविध कार्यक्रमहरु गरिएको हो ।
वार्षिकोत्सवको अवसरमा विद्यालयमा आयोजित समारोहमा विभिन्न आन्तरिक, जिल्लास्तरीय र प्रदेशस्तरीय प्रतियोगिताहरुमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थी, उत्कृष्ट अभिभावक लगायतलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा विद्यार्थी र अभिभावकहरुले विभिन्न किसिमका साङ्गीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । वार्षिकोत्सवको उद्घाटन गर्दै बेनी नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले म्याग्दी जिल्लाको शैक्षिक क्षेत्रमा माउण्ट एभरेष्ट आवासीय माविले माउण्ट एभरेष्ट जत्तिकै उचाई प्राप्त गरेको र यसलाई निरन्तरता दिँदै अझ गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

विद्यालयका सञ्चालक तथा प्रिन्सिपल राजु केसीले माउण्ट एभरेष्टको विरासतलाई कायम राख्नको लागि आफू र आफ्नो टिम अनरवत रुपमा लागिरहेको बताउँदैे संस्कार तथा प्रविधिसहितको व्यवहारिक र व्यवसायिक शिक्षा अबको लक्ष्य भएको स्पष्ट पार्नुभएको थियो । उहाँले विद्यार्थीहरुको प्रतिभा र क्षमता पहिचान गरेर उनीहरुको प्रतिभा प्रस्फुटन गर्न र गराउनका लागि विद्यालयले समय अनुकुलको वातावरण सिर्जना गर्ने तथा विद्यार्थीहरुलाई अध्ययनको अतिरिक्त विभिन्न व्यवहारिक क्रियाकलापहरुमा समेत सहभागी गराइएको जानकारी दिनुभयो ।
कार्यक्रम प्रिन्सिपल केसीको अध्यक्षता, विद्यार्थीहरु प्रिन्स मल्लिक र सुवाश्ना आचार्य तथा शिक्षक गंगादेवी शर्माको स्वागत, धु्रवसागर शर्मा र सुरेन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको थियो । वार्षिकोत्सव समारोहको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए । यसैगरी शुक्रवार शिक्षामार्ग व्लकमा विद्यालयको वार्षिकोत्सव तथा अभिभावक भेला समेत सम्पन्न भएको विद्यालयले जनाएको छ ।

शिक्षामार्गको कार्यक्रममा बेनी नगरपालिका ८ नम्बर वडाका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले माउण्ट एभरेष्ट आवासीय मावि जिल्लाको उत्कृष्ट विद्यालय भएको र यहाँबाट पढेर गएका विद्यार्थीहरु अत्यन्तै सफल भएको आफूले पाएको बताउनुभयो । कार्यक्रम शिक्षक रमेश रुचालको सञ्चालन र विद्यालयका सञ्चालिका तथा कोअर्डिनेटर सुनिता केसीको निर्देशन एवं व्यवस्थापनमा सम्पन्न भएको थियो ।



