• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

म्याग्दीको बेनी नगरपालिका ५ चिप्लेटीमा सञ्चालित डिम्ब आधारभूत विद्यालयले बुधवार आफ्नो ४२औं वार्षिकोत्सव मनाएको छ । विद्यालयद्वारा वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, चन्दादाता सम्मान र अभिभावक भेला आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा गतवर्ष २०८२ सालमा सञ्चालित वार्षिक परीक्षामा उत्कृष्ट नतिजासहित उत्तीर्ण हुने कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीहरुलाई स्टेशनरीसहित पुरस्कृत गरिएको थियो । यसैगरी विद्यालयले सञ्चालन गरेको आवासीय सुविधासहितको छात्रावास सञ्चालनमा आर्थिक तथा जिन्सी सहयोग गर्ने ४४ जना र विद्यालयलाई आर्थिक सहयोग गर्ने १० जनालाई सम्मानपत्रसहित सम्मान गरिएको विद्यालयले जनाएको छ ।

४२औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले आवासीय विद्यालय सञ्चालनलाई निरन्तरतासँगै थप कक्षा सञ्चालनको लागि बलियो आर्थिक स्रोत जुटाउनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या न्यून हुँदै गएपछि विद्यालय एकापसमा गाभ्ने, कक्षा घटाउने, दरबन्दी मिलान गर्ने जस्ता कार्यहरु नगरपालिकाबाट भैरहेकाले विद्यार्थी आकर्षण गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

शाखा प्रमुख भण्डारीले विद्यालयमा रहेको खाली जग्गामा फलफूल तथा तरकारी खेती गरी जग्गालाई प्रयोगमा ल्याउनुपर्ने बताउँदै अहिलेको बदलिँदो परिस्थितिलाई मध्यनजर गरेर शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । बेनी नगरपालिका वडानम्बर ५ का वडा अध्यक्ष गोविन्द बानियाँले बालबालिकाहरुको पहिलो विद्यालय घर परिवार भएको घरबाटै उचित शिक्षा दिनुपर्ने बताउँदै विद्यालयको औपचारिक शिक्षाको साथमा व्यवहारिक शिक्षा पनिे दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । पछिल्लोपटक देशैभरका विद्यालयहरुमा विद्यार्थी सङ्ख्या क्रमशः घट्दै गैरहेकाले सबै क्षेत्रबाट विद्यार्थी ल्याउने वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा विद्यालयका भूतपूर्व प्रधानाध्यापक गणेशबहादुर कार्की, भूपू विद्यार्थी एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव प्रताप बानियाँ र अभिभावक तारा विकले स्थानीयवासीको पहलमा सरोकारवाला निकायबाट प्राप्त सहयोगले विद्यालय अहिलेको अवस्थामा आइपुगेको बताउँदै आगामी दिनमा पनि विद्यालयको दीगो विकास गरेर अगाडि बढाउनुपर्ने बताउनुभयो । वार्षिकोत्सव समारोहको उद्घाटनसत्रमा विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर विद्यालयमा स्थापित दल–पवित्र अक्षयकोषबाट विद्यालयका प्रअ पौडेललाई सम्मान गरिएको थियो भने वडाध्यक्ष बानियाँले छात्रावास सञ्चालनका लागि व्यक्तिगत रुपमा नगद पाँचहजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर खत्रीले सबै क्षेत्रबाट आएको सहयोगले विद्यालय सञ्चालनमा सहज भएको बताउनुभयो । विव्यस अध्यक्ष खत्रीको अध्यक्षता, शिक्षकद्वय खड्कबहादुर खत्रीको सञ्चालन र चन्द्रकला पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।