• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

सरकारी विज्ञापन तथा सूचनाहरु सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन तथा प्रसारण गर्नुपर्ने भन्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको विभेदकारी परिपत्रको विरुद्धमा नेपाल पत्रकार महासंघले आन्दोलन सुरु गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिले तय गरेको चरणबद्ध आन्दोलनका कार्यक्रम अनुसार बिहीबार म्याग्दीमा पनि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको एक टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ साल चैत १८ गते संघीय सरकारका सबै निकाय, प्रदेश सरकार र स्थानीय तहहरुलाई जारी गरेको परिपत्रप्रति आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको हो । सरकारी विज्ञापनहरु सरकारी सञ्चारमाध्यममा प्रकाशन गर्ने भन्ने परिपत्रले गम्भीर विभेद र अन्याय भएको ठहर गरेको नेपाल पत्रकार महासंघले जनाएको छ । स्थानीयस्तरमा सञ्चालित स्वरोजगारमूलक सञ्चारमाध्यमहरु सङ्कटमा पर्ने देखिएकाले यस्तो निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ ।

मन्त्रिपरिषद्को कार्यालयको परिपत्र स्वतन्त्र पत्रकारिता, खुला अर्थनीति र संघीयताको मर्म विपरीत रहेको महासंघको ठहर रहेको ज्ञापनपत्रमा उल्लेख छ । यस्तो विभेदकारी निर्णयप्रति असहमति जनाउँदै नेपाल पत्रकार महासंघले २०८२ साल चैत २३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमक्ष ज्ञापनपत्र समेत बुझाएको र सोको कुनै सुनुवाइ हुन नसकेपछि महासंघले चिन्ता व्यक्त गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

झण्डै दुई तिहाइको सरकारले पहिलो प्रहार मिडियामाथि गरेको र यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने र निजी सञ्चारमाध्यमलाई कमजोर बनाउन तथा बन्द गराउन खोजिएको पत्रकार महासंघले आरोप लगाएको छ । नेपाल पत्रकार महासंघले पहिलो चरणमा सुरुवात गरेको यो आन्दोलनको कार्यक्रम अन्तर्गत बिहीबार ७७ वटै जिल्लाबाट नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापनपत्र पठाइएको छ । केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिनुभयो ।

श्रमजीवी पत्रकारको नियमित पारिश्रमिक र सेवा सुविधाको सुनिश्चित गर्ने तथा सरकारी विज्ञापनमा हुने चुहावट रोक्न यथोचित प्रवन्ध मिलाउँदै तत्काल विज्ञापन समबन्धी विभेदकारी निर्णय खारेज गर्न माग गरिएको छ । पत्रकार महासंघको माग पुरा गरी आन्दोलित हुने तर्फको वातावरण हटाउनको लागि पनि यस्तो माग गरिएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष प्रकाश पौडेल, जिल्ला शाखा म्याग्दीका अध्यक्ष गौतमसहित शाखाका पदाधिकारी, सदस्य तथा जिल्लामा क्रियाशील पत्रकार एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

उक्त ज्ञापनपत्र अध्यक्ष गौतमले प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो । पत्रकार महासंघ म्याग्दी शाखाको ज्ञापनपत्र बुझ्दै प्रजिअ आचार्यले राज्यको चौथो अङ्गको रुपमा रहेको पत्रकारिता क्षेत्रले उठाएका माग र विषयहरु वर्तमान सन्दर्भमा जायज भएको बताउँदै ज्ञापनपत्रलाई तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाउनुभयो । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रमको महासंघ म्याग्दी शाखाका सचिव ठाकुरप्रसाद आचार्यले सञ्चालन गर्नुभएको थियो ।