• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

आकस्मिक रुपमा परेको भीषण वर्षा र वर्षासँगै आएको बाढीपहिरोले म्याग्दीमा निर्माणाधीन बगरखोला जलविद्युत आयोजनाको निर्माणकार्य ठप्प भएको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका ७ नम्बर वडा चिमखोलास्थित बगरखोला जलविद्युत आयोजनामा भारी वर्षापछि आएको बाढी र पहिरोबाट क्षति पुगेपछि निर्माणकार्य रोकिएको हो ।

गएको मङ्गलवार दिउँसो भीषण वर्षासँगै आएको बाढीले आयोजनाको निर्माणस्थलमा क्षति पुर्‍याउँदा निर्माणकार्य पूर्ण रुपमा रोकिएको मोना हाईड्रोपावर लिमिटेडका अध्यक्ष रविना थापाले बताउनुभयो । उहाँका अनुसार बगरखोला जलविद्युत आयोजनाको निर्माणस्थल भन्दा माथि हिमाली भेग र वनजङ्गल क्षेत्रमा परेको अत्यधिक हिमपात र वर्षाको कारणले ठूलो बाढीपहिरो आएर आयोजना स्थलमा निर्माण भैरहेका संरचनाहरुमा क्षति पुर्‍याएको छ ।

बाढीले आयोजनाको निर्माणस्थलमा राखिएका निर्माणजन्य सामग्रीहरु बगाउनुका साथै उक्त स्थानमा आवतजावत गर्ने बाटो समेत बगाएकाले आयोजनाको निर्माणकार्यमा समस्या भैरहेको अध्यक्ष थापाले जानकारी दिनुभयो । काम गरिरहेको अवस्थामा आयोजना निर्माणस्थलमा अचानक ठूलो बाढीपहिरो आएपछि निर्माणकार्यमा परिचालन भएका कामदारहरु भागाभाग भएका थिए । बाढीपहिरो आएपछि उनीहरुले भागेर ज्यान जोगाएको बताइएको छ । बाढीले आयोजनाको संरचना, निर्माणस्थल र बाटोमा ठूलो क्षति पुर्‍याएको आयोजनाले जनाएको छ ।

निर्माणाधीन अवस्थामा रहेको चिमखोलाको बगरखोला जलविद्युत आयोजनामा बाढीपहिरो आएर क्षति पुर्‍याएपछि निर्माणको काम पूर्ण रुपमा बन्द भएको रघुगंगा गाउँपालिका वडानम्बर ७ का वडा अध्यक्ष थक बहादुर पाईजाले बताउनुभयो । ५ दशमलव ५ मेगावाट क्षमताको निर्माणाधीन बगरखोला जलविद्युत आयोजनाको मुख्य प्रवर्धक मोना हाईड्रोपावर लिमिटेड रहेको छ ।