• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com
असार २, २०८२ सोमबार । रुप्से न्यूज
म्याग्दी– सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा सोमबारदेखि म्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थीहरुका लागि सिर्जनात्मकलेखन कार्यशाला सुरु भएको छ । विद्यार्थीहरुमा लुकेर रहेको अन्तर्निहित सिर्जनात्मक क्षमतालाई बाहिर ल्याउने उद्देश्यसहित विद्यार्थीलाई लक्षित गरेर सिर्जनात्मकलेखन कार्यशाला आयोजना गरिएको हो ।
तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले सिर्जनात्मकलेखन कार्यशाला जिल्लामा पहिलोपटक आयोजना गरिएको बताउनुभयो । उहाँले सूचना र प्रविधिको तीव्र विकाससँगै मोबाइल तथा सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सही तरिकाले प्रयोग गर्नुपर्ने बताउँदै विद्यार्थीहरुले मोबाइल डिभाइस र सामाजिक सञ्जाललाई सकारात्मक रुपमा लिनुपर्ने सुझाव दिनुभयो ।
बेनी नगरपालिकाको नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले सिर्जनात्मक लेखनकार्यका लागि गहिरो तरिकाले अध्ययन गर्नुपर्ने बताउँदै तालिमलाई पूर्ण रुपमा उपयोग गर्न सहभागीहरुलाई सुझाव दिनुभयो । उहाँले सिर्जनात्मकलेखन आफैमा खोज तथा अनुसन्धानमूलक रहेकाले अध्ययन कार्यलाई विशेष जोड दिनुपर्ने बताउनुभयो । सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले विद्यार्थीहरुमा रहेको क्षमतालाई बाहिर ल्याएर सिर्जनात्मक अभ्यासको कार्यमा जोड्न कार्यशाला आयोजना गरिएको जानकारी दिनुभयो ।
म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीको विशेष उपस्थिति रहेको कार्यक्रमको उद्घाटनसत्र सामाजिक विकास कार्यालय प्रमुख सुवेदीको अध्यक्षता र स्वागत एवं म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यशालाको म्याग्दी बहुमुखी क्याम्पसको उपप्राध्यापक तारानाथ शर्मा, सहायक प्राध्यापक गोरखनाथ सुवेदी, अर्जुन पौडेल र हरिहर पौडेलले सहजीकरण गरिरहनुभएको छ ।
कार्यशालामा साईबर सुरक्षा, किशोरावस्थामा विवाहका चुनौतीहरु, जलवायु परिवर्तनका असर तथा न्यूनीकरणका उपायहरु, गण्डकी प्रदेशको विकास, म्याग्दी जिल्लाको अवस्थालगायत विषयहरुमा सहजीकरण भैरहेको छ । तालिममा म्याग्दीको छ वटा स्थानीय तहबाट गरी कुल ४८ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् । सिर्जनात्मकलेखन कार्यशालाबाट विद्यार्थीहरुको बीचमा प्रतिस्पर्धा समेत गराइने भएको छ ।