• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले बिहीबार आफ्नो ७०औं वार्षिकोत्सव मनाएको छ । विद्यालयद्वारा विद्यालयको पाङ्गणमा विविध कार्यक्रमहरुको आयोजना गरी ७०औं वार्षिकोत्सव तथा स्थापना दिवस–२०८३ मनाइएको हो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयबाट भूतपूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, उत्कृष्ट अभिभावक, शिक्षक, विद्यार्थी, छिमेकी विद्यालय, विद्यालयको पञ्चेबाजा समूहलाई सम्मान गरिएको थियो । भूपू अध्यक्षहरु माधवप्रसाद रेग्मी, गणेशबहादुर हमाल, रामचन्द्र पौडेल, रामप्रसाद सुवेदी र तिलकप्रसाद श्रेष्ठलाई दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरिएको विद्यालयले जनाएको छ ।

यसैगरी उत्कृष्ट अभिभावकतर्फ जमुना बानियाँ, शर्मिला दर्जी, गीता बानियाँ, कोपिला किसान र नन्दकुमारी पाईजालाई मायाको चिनोसहित सम्मान गरिएको थियो भने अभिभावकहरुबीच भएको म्यूजिकल चियर प्रतियोगितामा प्रथम विन्दु परियार तथा द्वितीय हुन सफल आरती हमाललाई क्रमशः नगद सातसय र पाँचसय रुपैयाँको साथमा मायाको चिनो कप प्रदान गरी पुरस्कृत गरिएको थियो । त्यस्तै माध्यमिक शिक्षा परीक्षा–२०८२ मा उत्कृष्ट नतिजा हासिल गराएकोमा विद्यालयका सहायक प्रधानाध्यापक राजु किसानलाई सम्मान गरिएको छ ।

त्यसैगरी कक्षा ८ को उत्कृष्ट नतिजा हासिल गराउनेमा शिक्षकद्वय गीता सुवेदी आचार्य र शिव बानियाँलाई सम्मान गरिएको थियो भने कक्षा ११ मा उत्कृष्ट नतिजासहित उत्तीर्ण हुने विद्यार्थीहरु लक्ष्मी दर्जी, आरएन श्रेष्ठ र निर्मला थापा बानियाँलाई स्टेशरी पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको अवसरमा विद्यालयलाई सहयोग गरेकोमा शिवालय आमा समूह पुलाचौरका पदाधिकारीलाई सम्मान गरिएको थियो भने विद्यालयको भूपू विव्यस सदस्य जगतकुमारी श्रेष्ठले जापानमा रहेका आफ्नो नातिको जन्मदिनको अवसरमा विपन्न विद्यार्थीहरुको सिकाई व्यवस्थापनको लागि नगद दुईहजार रुपैयाँ विद्यालयलाई सहयोग गर्नुभएको थियो ।

वार्षिकोत्सव कार्यक्रमकै अवसर पारेर कक्षा ६ मा अध्ययनरत विद्यार्थी सनम परियारले आफ्नो जन्मदिनमा विद्यालयलाई फूल रोप्ने गमला अभिभावकमार्फत हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष गोविन्द बानियाँले पुलाचौरवासीको अथक मेहनत र प्रयासबाट विद्यालयले प्रगति हासिल गर्न सफल भएको बताउनुभयो । विद्यालयका भूपू अध्यक्षद्वय माधवप्रसाद रेग्मी, रामचन्द्र पौडेल, भूपू सदस्य एवं पुलाचौर गाविसका पूर्व गाविस उपाध्यक्ष भोजबहादुर कार्कीले विद्यालय स्थापनादेखि अहिलेको अवस्थामा ल्याइपु¥याउन अग्रहजहरुले पु¥याएको योगदानको चर्चा गर्नुभयो । जनकल्याण मावि अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदीले कक्षा ११ र १२ सञ्चालन गर्नका लागि अक्षयकोष स्थापना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष बलराम बानियाँ, निवर्तमान विव्यस अध्यक्ष तिलकप्रसाद श्रेष्ठ, शिक्षक तथा निवर्तमान प्रधानाध्यापक कमलप्रसाद पौडेल, पूर्व प्रअ तेजप्रकाश बानियाँ, सहायक प्रअ राजु किसान र विद्यार्थी निस्मा बानियाँले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक गजिन्द्र श्रेष्ठले शिक्षण सिकाई उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा, सुधारात्मक शिक्षण, समूहगत कार्य प्रस्तुतीकरण र व्यवहारिक सिकाइलाई प्रोत्साहन गर्दै अगाडि बढाउने योजना रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा गलेश्वर माध्यमिक विद्यालय तोरीपानीका प्रअ हरिप्रसाद सुवेदीले कवितावाचन गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्कप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षकद्वय शिव बानियाँले सञ्चालन र शान्ति शर्मा पौडेलको स्वागत गर्नुभएको थियो । विद्यार्थीहरुले स्वागतसँगै अन्य नृत्यहरु प्रस्तुत गरेका थिएभने भूपू विद्यार्थी प्रविन परियारको संयोजनमा विद्यालयका विद्यार्थीहरुद्वारा पञ्चेबाजासहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

यसैबीच विद्यालयको वार्षिकोत्सव कार्यक्रमकै अवसर पारेर जनकल्याण माविमा औपचारिक कक्षा सुरु गरी हाल अस्टेलियामा रहनुभएका पूर्व विद्यार्थीहरुबाट सहयोग प्राप्त भएको प्रअ श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सरोज श्रेष्ठबाट २२०, किशोर पौडेल २२०, बाबुराम पौडेल २२०, सन्तोष श्रेष्ठ २२०, अविनाश श्रेष्ठ १७५ र अर्पणा श्रेष्ठबाट १७५ अस्टेलियन डलर प्राप्त भएको छ । यस रकमलाई विद्यालयमा अध्ययनरत गरिब, विपन्न, बेसाहारा विद्यार्थी र विद्यालय व्यवस्थापनको लागि खर्च गरिने प्रअ श्रेष्ठले जानकारी दिनुभयो ।

आजभन्दा ७० वर्ष पहिला वि.सं. २०१४ सालमा स्थापना भएको जनकल्याण माध्यमिक विद्यालयमा अहिले कुल १ सय ६५ जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् । बाल शिक्षादेखि कक्षा १२ सम्म अध्ययन तथा अध्यापन हुँदै आइरहेको यस विद्यालयमा मावि दरबन्दी ४, निमावि ४, प्रावि ८, लेखा १, विद्यालय कर्मचारी र सहयोगी एकएक जनासहित जम्मा १९ जना जनशक्ति परिचालित छ ।