म्याग्दी बहुमुखी क्याम्पस व्यवस्थापन विभागको आयोजना र नेपाल बैंक लिमिटेड म्याग्दी शाखाको आर्थिक सहयोगमा बिहीबार क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर आयोजित हाजिरीजवाफ प्रतियोगितामार्फत विद्यार्थीहरूमा व्यवस्थापकीय, वित्तीय एवं बैङ्किङ क्षेत्र सम्बन्धी विषयमा ज्ञान, सीप र अभिरुचि जागृत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको म्याग्दी बहुमुखी क्याम्पसले जनाएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख भोलानाथ घिमिरेको अध्यक्षता र नेपाल बैंक लिमिटेड, म्याग्दी शाखाका शाखा प्रवन्धक बाबुराम खरेलको प्रमुख आतिथ्यमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको थियो । कार्यक्रममा क्याम्पसको व्यवस्थापन सङ्काय अध्ययनरत विद्यार्थीहरुको विभिन्न ९ वटा समूहले सहभागिता जनाएका थिए ।
उक्त प्रतियोगितामा अञ्जना पौडेल, प्रमिसा पौडेल र सुशीला थापा सम्मिलित समूह प्रथम, सुष्मिता शर्मा, कामना रेग्मी र यज्ञबहादुर श्रेष्ठ सम्मिलित समूह द्वितीय तथा आज्ञा पौडेल, अर्चना सुवेदी र प्रविना सुवेदी सम्मिलित समूह तृतीय भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगी विद्यार्थी समूहलाई नगद पुरस्कार एवं प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

क्याम्पसका सहायक प्राध्यापक अर्जुन पौडेल र विकाश आचार्यले क्वीच मास्टरको भूमिका निभाउनुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन विभागीय प्रमुख विष्णु आचार्यले गर्नुभएको थियो भने स्वागत मन्तव्य सहायक क्याम्पस प्रमुख सुवेदीले गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै निमित्त क्याम्पस प्रमुख घिमिरेले विद्यार्थीहरुलाई अध्ययनको साथमा अतिरिक्त क्रियाकलापहरुमा पनि सहभागी गराउने उद्देश्यले नेपाल बैंकसँगको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
नेपाल बैंक लिमिटेड म्याग्दी शाखाका प्रवन्धक खरेलले बैंक तथा वित्तीय क्षेत्रमा विद्यार्थीहरुको आकर्षण वृद्धि गर्नको लागि शैक्षिक संस्थासँगको समन्वय तथा सहकार्यमा यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो ।




