म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सोमबार गाउँपालिकाको केन्द्र दरबाङ बजारस्थित छ्यारछ्यारेमा सम्पन्न १९औं गाउँसभामा उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले कुल ४८ करोड नौलाख ५८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको हो ।
गाउँसभामा पालिका उपाध्यक्ष घर्ती मगरले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा संघीय समानीकरण अनुदान आठ करोड ८९ लाख रुपैयाँ, राजश्व बाँडफाँडतर्फ नौ करोड तीनलाख ६३ हजार रुपैयाँ, सर्शत अनुदान चालुतर्फ २० करोड ७४ लाख ५० हजार रुपैयाँ, सर्शत पूँजीगत अनुदान ५० लाख रुपैयाँ, समपुरक पूँजीगत दुई करोड छ लाख रुपैयाँ र विशेष अनुदान ९२ लाख रुपैयाँ रहेको छ ।
यसैगरी गण्डकी प्रदेशको समानीकरणतर्फ एक करोड छ लाख ७७ हजार रुपैयाँ, राजश्व बाँडफाँड ८७ लाख ६८ हजार रुपैयाँ, विशेष अनुदान ४० लाख रुपैयाँ र समपुरक अनुदान ६० लाख रुपैयाँ बजेटमा आयको रुपमा समावेश गरिएको छ । त्यस्तै सञ्चित कोषबाट दुई करोड रुपैयाँ र आन्तरिक आय एक करोड रुपैयाँ बजेटमा अनुमानित आयको रुपमा समावेश गरिएको मालिका गाउँपालिकाले जनाएको छ ।
गाउँसभामा गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष मगरले प्रस्तुत गर्नुभएको बजेट तथा कार्यक्रमहरु सभाले सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिनुभयो । सार्वजनिक भएको बजेटमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष गर्बुजाले बताउनुभयो । पूर्वाधार विकासतर्फ सर्शत र पालिकाबाट गरी छ करोड ३० लाख आठ हजार रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष मगरले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले आर्थिक विकासतर्फ एक करोड ५० लाख रुपैयाँ र विपद् व्यवस्थापनका लागि एक करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा भौतिक पूर्वाधार निर्माण, सडक, अधुरा रहेका योजनालाई पूर्णता दिने, खानेपानी, सिँचाइ, भवन, लघुउद्यम, पर्यटन, नदी नियन्त्रण, युवा रोजगार, कृषि र पशुपालनलाई विशेष जोड दिएर बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष गर्बुजाको भनाइ छ ।
‘सुशासन, समृद्धि र सामाजिक न्याय दीगो विकासको आधार, समृद्ध मालिका गाउँपालिका हाम्रो अधिकार’ भन्ने मुख्य नारा बनाएको मालिकाले शिक्षा तथा खेलकुद अन्तर्गत ‘उत्तरदायी सरोकारवाला, सफल शिक्षा योजना’को नारालाई आत्मसाथ गरी स्वीकृत पञ्चवर्षीय गाउँ शिक्षा योजना कार्यान्वयनमा संलग्न सबै शैक्षिक सरोकारवालाहरुलाई थप उत्तरदायी बनाई प्रभावकारी कार्यान्वयनका लागि सुनिश्चित गरिने नीति लिइएको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी स्थानीय आवश्यकता र व्यवहारिक जीवनसँग सम्बन्धित जीवनपयोगी सिपमा आधारित कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम, नेपाली र मगर खाम भाषामा निर्माण भएको कक्षा १–३ को स्थानीय पाठ्यपुस्तक स्वीकृत गरी चालु शैक्षिक सत्रदेखि सबै विद्यालयहरुमा लागू गरिने भएको छ ।



