म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४६ करोड ५० लाख १८ हजार सातसय ५९ रुपैयाँको बजेट ल्याएको छ । मङ्गलवार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न २३औँ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले प्रस्तुत गर्नुभएको सो बजेट सर्वसम्मत रुपमा पारित गरिएको हो ।
प्रस्तुत बजेटका स्रोतहरुमा संघीय सरकारबाट सशर्त अनुदान चालुतर्फ २० करोड ७१ लाख, संघीय समानीकरण अनुदानतर्फ सात करोड ९४ लाख, संघीय विशेष अनुदान पुँजीगततर्फ एक करोड १० लाख, विशेष अनुदान चालुतर्फ ५८ लाख र समपुरक अनुदान पूँजीगततर्फ एक करोड ९५ लाख रुपैयाँ अनुमान गरिएको छ । त्यस्तै गण्डकी प्रदेश सरकारको प्रदेश विशेष अनुदान ४० लाख, प्रदेश समपुरक अनुदान पूँजीगततर्फ ६० लाख र समानीकरणतर्फ ९६ लाख ५० हजार आय अनुमान गरिएको छ ।
यसैगरी नेपाल सरकार राजस्व बाँडफाँडवापत सात करोड ८२ लाख, प्रदेश सरकार राजस्व बाँडफाँडवापत ९१ लाख ८७ हजार र गाउँपालिकाको आन्तरिक आम्दानी दुई करोड ७८ लाख (बैंक मौज्दातसहित) अनुमान गरिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चालु खर्चतर्फ ३३ करोड ५३ लाख २८ हजार सातसय ५९ रुपैयाँ र पूँजीगत खर्चतर्फ १२ करोड ९६ लाख ९० हजार रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष क्षेत्रीले बताउनुभयो । बजेटले सामाजिक विकास, आर्थिक तथा पूर्वाधार विकास, कार्यालय सञ्चालन र प्रशासनिक, सुशासन एवं अन्तर सम्बन्धित लगायतका क्षेत्रमा प्राथमिकताका साथ सम्बोधन गरेको छ ।

यसअघि गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई गाउँसभाले पारित गरेपछि बजेट प्रस्तुत गरिएको थियो । ‘समृद्ध मंगला गाउँपालिका, सुखी मंगलावासी जनता’को लक्ष्य हासिल गर्न दिगो एवम् टिकाउपूर्ण पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा, पहुँचयोग्य आधारभूत स्वास्थ्य सेवा प्रवर्धन, कृषि, उद्योग, पर्यटन क्षेत्र र रोजगारी सिर्जना, विपन्न तथा लक्षित वर्गको उत्थान पर्यावरण संरक्षण र विपद् व्यवस्थापनलाई नीति तथा कार्यक्रमको प्राथमिकताका क्षेत्रको रुपमा लिइएको छ ।
गाउँपालिकाले खाद्य सुरक्षाका लागि व्यवस्थित दिगो सिचाई, गाउँपालिकावासीका लागि सुरक्षित, स्वच्छ र सुलभ खानेपानी तथा पूर्ण सरसफाइको प्रत्याभूति, उत्पादनशील दिगो तथा व्यावसायिक कृषि, गाउँपालिकाको समृद्धिको आधार दिगो पर्यटकीय पूर्वाधार, एक वस्ती एक उद्यम, एक व्यक्ति एक सीप, विपद् व्यवस्थापन कोष निर्माण, सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम, अधयक्षसँग सहायता कार्यक्रम, मातृत्व सम्मान तथा शैक्षिक निरन्तरता, सुरक्षित प्रविधि, अनुशासित सिकाइलगायत विशेष कार्यक्रमहरु रहेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी रुपमा कार्यान्वयन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले जानकारी दिनुभयो ।



