ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १४औं वार्षिकोत्सवको अवसरमा मङ्गलवार म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत दुईजना छात्रालाई छात्रवृत्ति रकम वितरण भएको छ । म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच भएको सम्झौता (एमओयु) अनुसार वार्षिकोत्सवका दिन छात्रवृत्ति रकम प्रदान गरिएको हो ।
म्याग्दी क्याम्पसको बिबिएस प्रथम वर्षमा अध्ययनरत छात्राद्वय सचिना गर्बुजा र सैलजा पराजुलीलाई जनही १५ हजार रुपैयाँको दरले छात्रवृत्तिको रकम प्रदान गरिएको ग्रीन डेभलपमेन्ट बैंक बेनी शाखा म्याग्दीले जनाएको छ । उक्त रकम बैंकका शाखा प्रवन्धक अमृतकुमार श्रेष्ठ र कर्जा विभाग प्रमुख भानुभक्त शर्माले म्याग्दी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख श्रीधर सुवेदी र छात्राद्वयलाई हस्तान्तरण गर्नुभएको थियो ।

म्याग्दी क्याम्पसमा अध्ययनरत विद्यार्थीको अध्ययनलाई थप प्रभावकारी र उत्कृष्ट बनाउने उद्देश्यका साथ क्याम्पससँग गरिएको सम्झौता अनुसार वार्षिकोत्सवको अवसर पारेर विद्यार्थीहरुलाई उक्त छात्रवृत्तिको रकम प्रदान गरिएको बैंकका शाखा प्रवन्धक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले वार्षिकोत्सवको अवसरमा सेवाग्राहीलगायत सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दै पाँच जिल्ला कार्यक्षेत्र रहेको बैंकमार्फत शिक्षा क्षेत्रमा सहयोगसहित ग्राहकलक्षित विभिन्न सेवासुविधाहरु सञ्चालनमा ल्याइएको पनि बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुवेदीले ग्रीन डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान, इन्र्टनसिप र रोजगारीको अवसरका लागि एमओयु गरी वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । बैंकको नीति र क्याम्पससँगको सम्झौता अनुसार सूचना प्रकाशन गरिएकोमा बिबिएस प्रथम वर्षमा अध्ययनरतमध्ये जम्मा दुईजना छात्राले मात्रै निवेदन पेश गरेकाले दुवै जनालाई छात्रवृत्तिवापतको रकम उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

सहायक क्याम्पस प्रमुख भोलानाथ घिमिरेले वाणिज्य र विकास बैंकहरुको नाफा कमाउने उद्देश्य मात्र नभई शैक्षिक क्षेत्रमा पनि लगानी गरेकाले यसबाट सामुदायिक क्याम्पसमा विद्यार्थीहरुको आकर्षण बढ्दै जाने तथा कलेज उमेरमा हुने विदेश पलायनलाई समेत रोक्न महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो । छात्रवृत्ति वितरण कार्यक्रममा क्याम्पसका सहायक प्रमुखद्वय नारायणप्रसाद सुवेदी र पशुपतिनाथ ढकाललगायत रहनुभएको थियो । बैंकले क्याम्पसको नाममा नगद चेक उपलब्ध गराएको छ भने क्याम्पसले पनि विद्यार्थीहरुलाई चेक दिने जनाएको छ ।

क्याम्पस र बैंकको बीचमा भएको एमओयु अनुसार म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई बैंकले छात्रवृत्ति प्रदान, इन्र्टनसिप तथा भविष्यमा रोजगारीको अवसरलगायत सेवासुविधाहरु बैंकले उपलब्ध गराउन सक्ने उल्लेख गरिएको छ । शैक्षिक क्षेत्रमा बैंकले गरेको लगानीबाट शिक्षा क्षेत्रको गुणस्तर सुधार हुनुका साथै विद्यार्थीमा क्षमता अभिवृद्धिको अपेक्षा समेत गरिएको छ । २०७० सालमा स्थापना भएको ग्रीन डेभलपमेन्ट बैंकको प्रधान कार्यालय कास्कीको पोखरा महानगरपालिका ८ न्यूरोडमा रहेको छ भने म्याग्दी, बागलुङ, तनहुँ र नवलपुरमा शाखा सञ्चालनमा रहेका छन् ।

वि.सं. २०४८ साल पुस १७ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल कक्षा ११, १२ देखि स्नातकोत्तर तहसम्म बिए, बिबिएस, बिएड, बिआईसिटीई, एमबिएस र एमएडका कक्षाहरु सञ्चालनमा रहेका छन् । ०७६ सालमा विश्वविद्यालय अनुदान आयोगबाट धौलागिरि क्षेत्रमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता (क्युएए) प्राप्त गरेको म्याग्दी क्याम्पसले देशैभर करिब १२ वटा क्याम्पसहरुले मात्रै दोस्रोपटक क्युएए पाएकोमा म्याग्दी बहुमुखी क्याम्पस पनि पुनः क्युएए प्राप्त गर्ने अवस्थामा रहेको छ ।



