• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

म्याग्दीको धवलागिरि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४८ करोड ५२ लाख तीन हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र मुनामा बुधवार सम्पन्न १७औँ गाउँसभामा उपाध्यक्ष रेशम पुन मगरले सो परिमाणको बजेट प्रस्तुत गर्नुभएको हो ।

‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगार : समृद्ध धवलागिरि निर्माणको आधार’ भन्ने नारालाई कार्यान्वयन गर्ने लक्ष्यसहित बजेट ल्याइएको गाउँपालिकाले जनाएको छ । धवलागिरिलाई विकटको परिचय फेरेर सडक, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकासमार्फत समृद्ध गाउँपालिकाका रूपमा स्थापित गर्ने उद्देश्य बजेटले लिएको छ ।

गाउँपालिकाले आगामी वर्ष सबै वस्तीलाई सडक सञ्जालसँग जोड्ने, सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने, खानेपानी, सिँचाइ तथा ग्रामीण विद्युतीकरणका अधुरा आयोजना सम्पन्न गर्ने लक्ष्य तय गरेको अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । पूर्वाधार विकासतर्फ मात्र ११ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ । बजेटअनुसार यसवर्ष वडानम्बर ५ को भेडिखाल्टा गाउँसम्म मोटरबाटो विस्तार गरिने भएको छ । उक्त योजनाका लागि संघीय समपूरक अनुदान र गाउँपालिकाको साझेदारीमा एक करोड छ लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले सम्भावित पूर्वाधार आयोजनाको विस्तृत अध्ययन, डिजाइन तथा प्राविधिक तयारीका लागि समेत बजेट व्यवस्था गरेको जनाएको छ । निर्माणाधीन गाउँपालिका प्रशासकीय भवन सम्पन्न गर्न एक करोड ५० लाख बजेट छुट्याइएको छ । त्यस्तै पहाड ट्रष्टसँगको सहकार्यमा हेम माध्यमिक विद्यालयमा दशकोठे भवन निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ । गाउँपालिका भित्रका सडकलाई वर्षैभरी सञ्चालनयोग्य बनाउन बाटो सरसफाइ शीर्षकमा एक करोड बजेट राखिएको छ । लुलाङ–गुर्जा सडकलाई स्तरोन्नति गरी बाह्रै महिना सञ्चालनयोग्य बनाउने लक्ष्यसहित प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा एक करोड विनियोजन गरिएको छ । ताकम ढल व्यवस्थापन योजनालाई एक करोड बिनियोजन भएको छ भने पालिकास्तरीय कबर्डहल निर्माणका लागि २० लाख बजेट छुट्याइएको छ ।

गाउँपालिकाले आर्थिक विकासतर्फ एक करोड चारलाख विनियोजन गरेको छ । कृषि क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारका रूपमा लिँदै कृषि यान्त्रिकीकरण, बिऊबिजन, बिरुवा, टनेल वितरण तथा आकस्मिक रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने भएको छ । जडिबुटी खेतीको सम्भावनालाई उपयोग गर्न यस क्षेत्रको विस्तारमा पनि जोड दिइएको छ । पशुपालन क्षेत्रमा देखिने आकस्मिक रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने र सहकारी संस्थालाई कोपोमिस प्रणालीमा आबद्ध गरिने बजेटमा उल्लेख छ ।

पर्यटनतर्फ पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा पूर्वाधार निर्माणका लागि बजेट व्यवस्था गरिएको छ । सामाजिक विकासतर्फ सबैभन्दा धेरै २२ करोड २४ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । शिक्षातर्फ पढ्दै कमाउँदै, विद्यालयका दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइएको छ । स्थानीय पाठ्यक्रम निर्माण, विद्यालयस्तरीय मूल्याङ्कन, शिक्षक क्षमता विकास, सूचना प्रविधिमैत्री शिक्षा तथा प्रतिभा पहिचान कार्यक्रमका लागि बजेट व्यवस्था गरिएको छ ।