• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि म्याग्दीका स्थानीय तहमा सबैभन्दा पहिला वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गएको बिहीबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २१औं गाउँसभाले आगामी आवका लागि कुल ५६ करोड चारलाख २० हजार सातसय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेसँगै सोही दिन पारित पनि गरेको हो ।

गाउँसभामा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएसँगै उपाध्यक्ष प्रेमकुमारी पुनले आगामी आर्थिक वर्षका लागि उक्त बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष पुनले प्रस्तुत गरेको बजेटमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ करोड ३१ लाख, सर्शत अनुदानतर्फ २२ करोड ७४ लाख रुपैयाँ रहेको छ । विशेष अनुदान एक करोड ५० लाख, समपुरक अनुदानतर्फ ७० लाख गरी जम्मा ३४ करोड ३५ लाख रुपैयाँ संघीय अन्तर सरकारी हस्तान्तरण अन्तर्गत बजेट प्राप्त हुने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ एक करोड एक लाख सातहजार, समपुरक अनुदानतर्फ ६० लाख, विशेष अनुदानतर्फ ३९ लाख ९८ हजार गरी दुई करोड एक लाख पाँचहजार रुपैयाँ प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणको बजेट प्राप्त हुने अनुमान गरिएको छ । यस्तै संघीय सरकारको राजश्व बाँडफाँडतर्फ १० करोड ६२ लाख ७७ हजार, प्रदेश राजश्व फाँडफाँडबाट एक करोड पाँच लाख ३३ हजार र आगामी आर्थिक वर्षका लागि आन्तरिक राजश्वतर्फ एक करोड पाँच लाख रुपैयाँ अनुमान गरिएको छ ।

त्यस्तै चालु आर्थिक वर्षमा खर्च नभई बाँकी रहने सात करोड ७६ लाख गरी आन्तरिक आयतर्फ आठ करोड ८१ लाख रुपैयाँ बजेटमा अनुमान गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि र ग्रामीण सडकलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो । यसपटक समुदायमा उत्पादन, कृषि र प्रोत्साहनका कार्यक्रमलाई निरन्तरतासँगै थप बजेट तथा कार्यक्रमहरु पारित गरिएको उहाँले बताउनुभयो । रघुगंगा गाउँपालिकाले देशभर नीति तथा कार्यक्रम सार्वजनिकसँगै पारित गर्ने पहिलो भएको उहाँको दावी छ ।

गाउँपालिकाले पारित गरेको आगामी आवको वार्षिक नीति, कार्यक्रम र बजेट अन्तर्गत कृषि र पशुपालनतर्फ जोड दिन किसानलाई उत्पादनमुखी बनाउने गरी कृषिको आधुनिकीकरण, व्यावसायिक खेती, पशुपालन प्रवद्र्धन तथा अनुदानका कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिएको छ । पर्यटन प्रवद्र्धनतर्फ रघुगंगा क्षेत्रमा रहेका धार्मिक, प्राकृतिक र साहसिक पर्यटनस्थलको आवश्यक प्रचारप्रसार, पूर्वाधार निर्माण तथा पर्यटनमार्फत रोजगारीको सिर्जना गर्ने कार्यक्रमहरु समावेश गरिएको छ ।

शिक्षातर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षा, शिक्षक क्षमता विकास तथा विद्यार्थी प्रोत्साहन कार्यक्रम अघि बढाइने नीति लिइएको छ । त्यस्तै स्वास्थ्यतर्फ गाउँस्तरमा आधारभूत स्वास्थ्य सेवा सुदृढ गर्ने, स्वास्थ्यचौकी स्तरोन्नति तथा मातृशिशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिइएको छ । गाउँसभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटलाई पूर्ण रुपमा कार्यान्वयनमा लगिने अध्यक्ष भण्डारीले बताउनुभयो ।