• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधवार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न गाउँसभाको २३औँ अधिवेशनले सो परिमाणको बजेट पारित गरेको हो ।

बजेटले शैक्षिक सुधार, कृषिमा व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवामा पहुँच विस्तार, आर्थिक तथा सामाजिक विकास, पूर्वाधार निर्माण, वातावरण संरक्षण तथा प्रविधिमैत्री सुशासनलाई उच्च प्राथमिकतामा राखेको छ । प्रस्तुत बजेटमध्ये चालुतर्फ ४५ करोड ८६ लाख दुईहजार रुपैयाँ अर्थात् ७५ प्रतिशत र पूँजीगततर्फ १५ करोड २८ लाख ६७ हजार रुपैयाँ अर्थात् २५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

विषयगत शाखाबाट प्रस्तावित कार्यक्रम तथा योजनाका लागि पाँच करोड ४४ लाख ६७ हजार रुपैयाँ, गाउँपालिकाको प्रशासनिक खर्च तथा कार्यक्रम कार्यान्वयनका लागि २३ करोड ११ लाख ४० हजार रुपैयाँ तथा वडा कार्यालयहरूको सिफारिसको आधारमा सञ्चालन हुने विकासे आयोजना तथा कार्यक्रमका लागि आठ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ । आयतर्फ संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँडमार्फत ५२ करोड ९८ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

प्रदेश सरकारबाट अनुदान तथा राजस्व बाँडफाँडमार्फत २० करोड ४२ लाख छ हजार रुपैयाँ, गाउँपालिकाको आन्तरिक आयबाट दुई करोड ५० लाख रुपैयाँ तथा बैंक मौज्दातबाट नौ करोड १२ लाख ९० हजार रुपैयाँ परिचालन गरिने गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताउनुभयो । चालु आवको जेठ मसान्तसम्म गाउँपालिकाले कुल विनियोजित बजेटमध्ये ३० करोड १७ लाख ३६ हजार रुपैयाँ (४९.१४ प्रतिशत) खर्च गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले यस अवधिमा चालु खर्च २२ करोड ५२ लाख ७५ हजार रुपैयाँ (५९.६८ प्रतिशत) र पूँजीगत खर्च सात करोड ६४ लाख ६१ हजार रुपैयाँ (३२.३२ प्रतिशत) रहेको जानकारी दिनुभयो ।

गाउँसभाको अधिवेशनमा गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाउनुभयो । नीतिमा भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सुशासन प्रवद्र्धनमा जोड दिइएको छ । कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यावसायिक बनाउन स्थानीय रैथाने बाली संरक्षणका लागि ‘बिऊ बैंक’ स्थापना गरिने तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतामा आकर्षित गर्न ‘बिऊ पूँजी’ कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

पर्यटन प्रवद्र्धनतर्फ पुनहिल र तातोपानी क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । साथै पदमार्गमा यात्रा गर्ने पर्यटक तथा पदयात्रीको सुविधाका लागि हेल्थ डेस्क स्थापना गर्ने नीति लिइएको छ भने शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ । विद्यालयमा दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाइने तथा महिलाको स्वास्थ्य अवस्थाको परीक्षणका लागि विशेष स्वास्थ्य शिविर सञ्चालन गरिने नीति तथा कार्यक्रममार्फत जोड दिइने अध्यक्ष पुनले बताउनुभयो ।