• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

सङ्घीय नेपालको मध्य भागमा पर्ने गण्डकी प्रदेश भित्रको हिमाली जिल्ला म्याग्दीको पश्चिम उत्तर क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका भूगोलका हिसाबले म्याग्दी जिल्लाको दुर्गम र विकट क्षेत्रमा पर्दछ । साविकका गूर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङ, मराङ र ताकम गरी सातवटा गाविसहरु समावेश गरेर धवलागिरि गाउँपालिका गठन गरिएको हो । जिल्लाको कुल क्षेत्रफलको १ हजार ३७ वर्ग किलोमिटर अर्थात् करिब ४५ प्रतिशत भू–भाग धवलागिरि गाउँपालिकाले मात्रै ओगट्ने गर्दछ । धवलागिरि गाउँपालिकामा नेपालको छैटौँ तथा विश्वको सातौं अग्लो ८ हजार १ सय ६७ मिटरको अग्लो धवलागिरी हिमालसहित यहाँ गूजा, चुरेन, पुथा जस्ता अग्ला हिमालहरु रहेका छन् । धवलागिरी हिमालको नामबाट यस गाउँपालिकाकाको नामाकरण गरिएको हो । विपद् व्यवस्थापनका हिसाबले पनि धवलागिरि गाउँपालिका संवेदनशील रहेको छ भने यहाँ जनशक्ति पनि पर्याप्त छैन । यसै सन्दर्भमा धवलागिरि गाउँपालिकाको विपद् व्यवस्थापन, सेवा प्रवाह तथा सुशासन र पालिकामा जनशक्ति व्यवस्थापन सम्बन्धी विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मासँग जगन्नाथ मिडिया प्रालिद्वारा सञ्चालित रुप्से न्यूज डटकमका लागि सम्पादक प्रताप बानियाँले गरेको कुराकानीको सम्पादित अंशः

विपद्जन्य घटनाको हिसाबले धवलागिरि गाउँपालिकाको अवस्था कस्तो रहेको छ ?

विपद्का हिसाबले हाम्रो धवलागिरि गाउँपालिका एकदमै विपद् संवेदनशील गाउँपालिका हो । यहाँको भौगोलिक हिसाबले हेर्दा पनि प्रत्येक वर्ष यहाँ विपद्का घटनाहरु भैरहेका छन् भने त्यसलाई न्यूनीकरण गर्नका लागि गाउँपालिकाले आफ्नो वार्षिक आवधिक योजना तथा वार्षिक बजेटमा समेत विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने हिसाबले विभिन्न कार्यक्रमहरु, रणनीतिहरु तथा योजनाहरु तर्जुमा गरिरहेको अवस्था छ । यसै सन्दर्भमा सकेसम्म विपद्लाई कम गर्ने हिसाबले अगाडि बढेको अवस्था हो भने विपद्का घटनाहरु घटेमा तत्काल उद्धार, राहत र पुनसर््थापनाका कार्यक्रमहरु सञ्चालन गर्ने गरी गाउँपालिकाले आफ्नै विपद् व्यवस्थापन सम्बन्धी कार्यविधि पनि तर्जुमा गरेको छ । यसैगरी गाउँपालिकाले विपद् व्यवस्थापन सम्बन्धी कोष पनि खडा गरेको छ । त्यस कोषबाट जति पनि विपद्ले गर्दा प्रभावित हुनुहुन्छ, उहाँहरु सबैलाई राहत रकम प्रदान गर्ने, उद्धार गर्ने गरी हामीहरुले कार्यक्रम अगाडि बढाएका छौं । यसका साथै प्रत्येक वडाहरुमा वडास्तरीय विपद् व्यवस्थापन समिति र गाउँपालिकामा गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समिति गठन गरी आवश्यक पूर्वतयारीका कामहरु पनि गरेका छौं । त्यस्तै जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा प्रत्येक दिन यहाँको विपद्जन्य अवस्था कस्तो छ, त्यसको बारेमा पनि सूचनाहरु आदानप्रदान गर्ने हिसाबले कार्यक्रम अगाडि बढेको छ ।

सेवा प्रवाह र सुशासनको हिसाबमा गाउँपालिकाबाट कसरी काम भैरहेको छ ?

धवलागिरी गाउँपालिकाले गाउँपालिकामा सुशासन स्थापित गर्ने, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने हिसाबले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । पछिल्लो समय वर्तमान सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीमा पनि यो सुशासन सेवा प्रवाहलाई एकदम महत्वपूर्ण रुपमा लिएको अवस्थामा गाउँपालिकाले र गाउँपालिका मातहतका कार्यालयहरुबाट पनि सर्वसाधारण नागरिकहरुलाई सार्वजनिक सेवा प्रवाह भैरहेको छ । आगामी दिनमा त्यसलाई थप व्यवस्थित गर्ने हिसाबले अन्य कार्यक्रमहरु सञ्चालन गर्ने र अब स्थानीय तह भएको हुनाले गाउँपालिका र वडा कार्यालयहरुमा यो निश्चित कार्यालय समय भन्ने पनि नराखिकन हामीले सकेसम्म नागरिकहरुका गुनासाहरु, त्यसैगरी आवश्यकताहरु, सेवा प्रवाहलाई तत्काल सम्बोधन गर्ने हिसाबले अगाडि बढेका छौँ । सर्वसाधारण नागरिकलाई प्रभावकारी सेवा प्रवाहमा पहल गरिरहेका छौं ।

धवलागिरि गाउँपालिकालाई जिल्लाको अन्य पालिकाहरुभन्दा विकट पनि मानिन्छ, त्यसैले यहाँ जनशक्ति पर्याप्त छ कि छैन ?

हो हजुरले नै भन्नुभयो धवलागिरि अब म्याग्दी जिल्लाकै विकट गाउँपालिका पनि हो र सदरमुकामदेखि केही टाढा रहेको वस्ती पनि हो । त्यसैगरी यहाँ आउने सडकको अवस्था पनि जिर्ण भएको अवस्थामा सकेसम्म कर्मचारीहरु आउनै नचाहने र आए पनि सकेसम्म मेसो मिलेसम्म तलतिर सरुवा भएर जाने प्रवृत्ति छ नै । त्यसले गर्दा जुन जति पनि स्वीकृत दरबन्दी अनुसार जनशक्ति हुनुपर्ने हो, त्यो पूरा गर्न हामीलाई चुनौती धेरै नै छ । पछिल्लो समय नेपाल सरकारले नै यो सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी राष्ट्रिय मापदण्ड जारी गरी स्थानीय तहले आफ्नो आवश्यकता अनुसार सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेर जनशक्तिहरु पदपूर्ति गर्ने भन्ने जुन निर्णय गरेको छ, त्यही अनुसार हामी अहिले यो ओएनएम गरेर त्यस अनुसार नै जनशक्ति पदपूर्ति गर्ने हिसाबले अगाडि बढेका छौँ र व्यवस्थापन सर्वेक्षण सम्पन्न गरेर हामी त्यो प्रतिवेदन मूल्याङ्कनको लागि प्रदेश सरकारमा पठाउने तयारीमा छौँ ।

तपाईँको गाउँपालिकामा विपद्बाट हुने क्षतिलाई रोक्न के, कस्ता पहलहरु गर्नुभएको छ ?

अब यो वर्षाको समयमा धवलागिरि गाउँपालिकामा विभिन्न विपद्का ठूलै घटनाहरू पनि घटेको र ती कुराहरूलाई पाठको रूपमा लिएर धवलागिरि गाउँ कार्यपालिकाले विपद् प्रतिकार्य योजना तयार गरेको छ भने भवितव्य अवस्थामा जुन वर्षाको समयमा नसोचिएका घटनाहरू पनि घट्न सक्छन्, त्यस्तो अवस्थामा त्यतिबेला उद्धार त्यसैगरी राहतको लागि बजेट स्रोत साधनको अभाव नहोस् भनेर पर्याप्त मात्रामा हामीले हिउँदे गाउँसभाबाट, त्यसैगरी अघिल्लो वर्षको गाउँसभाबाट पनि विपद् व्यवस्थापन कोषलाई मजबुत बनाउने हिसाबले बजेटको व्यवस्थापन गरेका छौँ । तत्कालको लागि उद्धार एवं राहतको आवश्यक पर्ने जुन विपद्जन्य सामग्रीहरू छन्, तिनलाई पनि मौज्दातको रुपमा चुस्त राख्ने प्रयास हामीले गरेका छौँ भने पछिल्लो समय यो विपद् प्राधिकरणले विकास गरेको जुन सूचना प्रणाली छ । त्यसमा समेत नियमित रूपमा यताबाट पनि सूचनाहरू अपडेट गर्ने, त्यसैगरी प्राधिकरण, त्यसैगरी मौसम पूर्वानुमान महाशाखाबाट जुन बुलेटिनहरू जारी हुन्छन्, ति सूचनाहरूलाई पनि गाउँपालिकाको वेबसाइटमा राख्ने व्यवस्था गरेका छौं । त्यस्तै गाउँपालिकाको फेसबुक पेजलगायत सामाजिक सञ्जालहरूमार्फत पनि आम नागरिकहरूमा सेवा प्रवाह गर्ने गरी, सुसूचितका लागि गाउँपालिकाले काम गरिरहेको छ ।