असोज ५, २०८३ सोमबार । रुप्से न्यूज
म्याग्दी – अविरल वर्षासँगै आएको ठूलो बाढीपहिरोले सडक भत्किएपछि जलविद्युत आयोजनाको निर्माणकार्य पूर्ण रुपमा रोकिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा निर्माणाधीन बगरखोला जलविद्युत आयोजनाको निर्माणकार्य ठप्प भएको आयोजनाले जनाएको छ ।
गएको भदौ ३१ गतेदेखि ५ दिनसम्म लगातार परेको अविरल वर्षाको कारणले बेनीदेखि दग्नाम हुँदै चिमखोला–मङ्गले जाने सडक बाढीपहिरोले बगाउँदा आवतजावत बन्द भएको रघुगंगा गाउँपालिका ४ दग्नामका वडा अध्यक्ष पविन गर्बुजाले बताउनुभयो । उहाँले अविरल वर्षाले दग्नाम–चिमखोला जाने सडक बगाउँदा सडकमार्ग भएर निर्माणजन्य सामग्रीहरु ढुवानी र आवतजावत बन्द भएको जानकारी दिनुभयो ।

मोना हाईड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित ५ दशमलव ५ मेगावाट क्षमताको उक्त बगरखोला जलविद्युत आयोजनाका लागि दग्नाम र चिमखोला क्षेत्रमा परेको भीषण वर्षासँगै आएको बाढीपहिरोले सो आयोजनाको निर्माणस्थलसम्म पुग्ने सडक आवतजावत तथा निर्माणका सामग्रीहरु ढुवानी गर्न नमिल्ने गरी भत्किएको आयोजनाले जनाएको छ । आयोजनाको निर्माणस्थलसम्म पुग्ने मुख्य सडकमा बाढीपहिरोले क्षति पु¥याउँदा खासगरी निमाणका लागि आवश्यक सामानहरु ढुवानी हुन नसक्दा काम ठप्प भएको हो ।

वर्षात्को समय असारदेखि असोज महिनासम्म नयाँ उत्खनन् तथा ठूला साधनहरुको प्रयोगले हुने क्षति र विनाशलाई मध्यनजर गरी जलविद्युत आयोजनाले निर्माणकार्य रोकेको थियो । तर भीषण वर्षाले दग्नाम क्षेत्रमा सडक क्षतविक्षत बनाएपछि आयोजनाको निर्माणकार्यमा थप समस्या उत्पन्न भएको जनाइएको छ । यसअघि पनि गएको वैशाख दोस्रो साता र साउन १० गते परेको आकस्मिक तथा भीषण वर्षा र लगत्तै आएको बाढीपहिरोले बगरखोला जलविद्युत आयोजनामा ठूलो क्षति पु¥याएको थियो ।

भीषण वर्षासँगै आएको बाढीपहिरोबाट भएको क्षतिका कारणले गर्दा त्यसबेला पनि आयोजनाको सम्पूर्ण निर्माणकार्य बन्द भएको थियो । चिमखोला गाउँभन्दा माथि निर्माणस्थल रहेको यस आयोजनामा विभिन्न समयमा पर्ने गरेको भीषण वर्षा र त्यसपछि आउने बाढीले निर्माणर्कामा अवरोध पु¥याउँदै आएको छ । वर्षा र बाढीपहिरोले सडक अवरुद्ध भएपछि आवतजावत र निर्माणका सामग्री ढुवानीमा समस्या भएको छ ।




