• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

नेपाली कांग्रेस म्याग्दीको बुधवार सम्पन्न पालिकास्तरीय अधिवेशनबाट रघुगंगाबाहेक जिल्लाको पाँचवटा पालिकामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै सुरु भएको वडा अधिवेशनपछि पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो ।

अधिवेशनबाट जिल्लाको बेनी नगरपालिकाको नगर सभापतिमा चक्र केसी, मंगला गाउँपालिकामा गोपाल भट्टचन, मालिका गाउँपालिकामा राजु जुग्जाली, धवलागिरि गाउँपालिकामा प्रेमप्रसाद पुन र अन्नपूर्ण गाउँपालिकामा कृष्णप्रसाद बरुवाल निर्विरोध निर्वाचित हुनुभएको नेपाली कांग्रेस म्याग्दीका सचिव भरतबहादुर रकालले जानकारी दिनुभयो । रघुगंगा गाउँपालिकामा भने तीन जनाको उम्मेदवारी परेकाले नेतृत्व चयन हुने बाँकी छ ।

नवनिर्वाचित पालिका सभापतिहरुतर्फ धवलागिरिका पुन धवलागिरि गाउँपालिकाको अध्यक्ष र बेनी नगरपालिकाका सभापति केसी वडा नं ९ को वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हुनुहुन्छ । मंगला गाउँपालिकाको सभापतिमा निर्वाचित भट्टचन कांग्रेसका नेता तथा निर्माण व्यवसायी हुनुहुन्छ भने मालिकाको सभापति जुग्जाली स्थानीय यूवा नेता रहेको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । उता अन्नपूर्णमा निर्वाचित सभापति बरुवालले अघिल्लो कार्यकालका सभापतिले राजीनामा दिएपछि पालिका सम्हाल्नुभएको थियो ।

बरुवालले राजीनामापछि रिक्त रहेको सभापति सम्हालेकाले यसपटक उहाँलाई नेता र कार्यकर्ताले साथ दिएका छन् । नेपाली कांग्रेसको पालिका अधिवेशनबाट नवनिर्वाचित पालिका सभापतिहरुले आ–आफ्नो क्षेत्रमा खटिएर पार्टीलाई पहिलो सङ्गठन बनाउँदै आगामी कार्यकालका लागि स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने प्रतिबद्धता समेत जनाएका छन् ।

पार्टीको साङ्गठनिक सुदृढीकरण, चुनावी रणनीति र भातृ संस्थाहरूको परिचालनसहितका कार्यक्रम सञ्चालनको कार्यतालिका अनुसार अगाडि बढ्ने बेनी नगरपालिकाका नवनिर्वाचित सभापति केसीले बताउनुभयो । नेपाली कांग्रेसको आसन्न १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत म्याग्दीका ४५ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ भने अब जिल्ला अधिवेशनसहित महाधिवेशन प्रतिनिध चयनको कार्य अगाडि बढेको नेपाली कांग्रेस म्याग्दीले जानकारी दिएको छ ।