• बेनी नगरपालिका–८, बेनीबजार, म्याग्दी 
  • rupsenews@gmail.com

हिमालापारीको जिल्ला मुस्ताङको कोरला नाका क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । मौसममा आएको फेरबदलको कारणले बिहीबारदेखि वर्षा भएको मुस्ताङमा शुक्रवार दिउँसोबाट मुस्ताङ–तिब्बत कोरला नाका आसपासमा हिमपात भैरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मुस्ताङमा बिहीबारदेखि नै निरन्तर वर्षा भैरहेको छ भने कोरला नाकामा हिमपात भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले टेलिफोनमा बताउनुभयो । निलगिरी हिमाल र याकखर्कलगायत उच्च क्षेत्रका डाँडापाखामा पनि हिमपात भएको छ भने जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो क्षेत्रमा निरन्तर वर्षा भैरहेको उहाँले जानकारी दिनुभयो ।

वर्षासँगै हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ । पश्चिमी वायुको प्रभावले मुस्ताङमा वर्षा र हिमपात भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभाग तथा पूर्वानुमान महाशाखाको विशेष मौसम सम्बन्धी बुलेटिनमा गण्डकी प्रदेश भारी वर्षाको सूचीमा परेपछि उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज ८ देखि ११ गतेसम्म रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा र हिमपात हुन सक्ने भएकाले कोरला नाका तथा आसपासका क्षेत्रमा यातायात सञ्चालन गर्दा विशेष सावधानी अपनाउन आग्रह समेत गरिएको छ । यसैगरी मौसममा आएको गडबढीको कारणले जोमसोम–पोखरा हवाई उडान समेत शुक्रवार बिहानैबाट बन्द भएको छ । निरन्तर वर्षाको कारण मौसम नखुल्दा हवाई उडान प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

त्यस्तै सिमसिम परिरहेको वर्षाको कारणले मुस्ताङमा बनाइएका पुराना ढुङ्गा र माटोले निर्मित परम्परागत संस्कृतिका घरहरूमा भने जोखिम बढाएको छ । घरपझोङ गाउँपालिका ५ ठिनीका स्थानीय सरिता थकालीका अनुसार पुराना ढुङ्गा र माटोले बनेका घरलाई निरन्तर वर्षा हुन थालेपछि सास्ती बनाएको बताउनुभयो । उहाँले वर्षाले पुराना घर चुहिने र भत्किने डर भएकाले त्यसबाट जोगाउन स्थानीयवासीले घरको छत र गाह्रोलाई त्रिपाल तथा प्लाष्टिकले ढाकेको जानकारी दिनुभयो ।